चार वर्ष वितिसक्दा पनि नामविहीन प्रदेश १ प्रकाशित मिति : 7 September, 2022 9:46 am काठमाडौं । देशका ६ वटा प्रदेशको नामाकरण भएको लामो समय बितिसक्दा समेत प्रदेश १ ले नाममा सहमति जुटाउन सकेको छैन । गत २०७६ बैशाख २३ गते प्रदेश १ को राजधानी विराटनगर तोकिए पनि नामकरण भने हालसम्म हुन नसकेको हो । एकल पहिचान, बहुपहिचान वा भूगोलका आधारमा प्रदेशको नामकरण गर्ने विषयमा विवाद हुँदा चार वर्षसम्म नामविहीन प्रदेश बनेको हो । नेकपाका तर्फबाट साढे तीन वर्ष मुख्यमन्त्री रहेका शेरधन राई नाम टुङ्गो नलगाई पदबाट बाहिरिए । त्यसपछि एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यको पालामा नामकरणको विषय सदनमा प्रवेश नै गर्न पाएन । अनि २०७८ कात्र्तिक १६ मा गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेको राजेन्द्र राइपनि प्रदेशको नामकरण टुङ्ग्याउनेतर्फ अग्रसर नै देखिएको छैनन् । केही दिनअघि बसेको प्रदेशसभा बैठकमा पहिलो कार्यकालबाट नाम राख्न नसकेको भन्दै हात जोडेरै माफी समेत मागेका थिए । प्रदेशको नामाकरणका लागि कोशी, सगरमाथा, कोचिला, किराँत, लिम्बुवान लगायत नामको प्रस्ताव आएका छन् । तर, के नाम राख्ने भन्नेमा सहमति जुटाउन नसक्दा प्रदेशका सांसद र मुख्यमन्त्रीको कार्यक्षमता माथि नै प्रश्न उठेको हो । गत २०७२ मा जारी भएको संविधाले प्रदेशहरूको नाम सम्बन्धित प्रदेश सभाले टुङ्गो लगाउने व्यवस्था गरेको थियो । जस अनुसार प्रदेश २ मधेश, प्रदेश ३ बागमती, प्रदेश ४ गण्डकी, प्रदेश ५ लुम्बिनी, प्रदेश ६ कर्णाली र प्रदेश ७ सुदूरपश्चिम भइसकेका छन् । तर, प्रदेश १ ले कहिले नाम पाउँछ भन्ने टुंगो भने अझै लागेको छैन ।