ताप्लेजुङका पर्यटकीय क्षेत्रलाई करोडौँ रकम

काठमाडौं । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङका तीन वटा पर्यटकीय क्षेत्रलाई नेपालको सय गन्तव्य सूचीमा समावेश गराई सो क्षेत्रको विकासका लागि करोडौँ रकम विनियोजन गराएका छन् ।

ताप्लेजुङका ३ पालिका रहेको मुख्य पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले तिम्बुङ पोखरी, फुङफुङे भरना र पाथीभरा क्षेत्रको विकासका लागि पूर्वमन्त्री समेत रहेका भट्टराईको विशेष पहलमा ती क्षेत्रको विकासका निम्ति करोडौँ रकम विनियोजन भएको हो ।

तिम्बुङ पोखरी क्षेत्रमा मन्दिर निर्माण, विश्राम स्थलहरू निर्माण, आवास पदमार्ग, बाटो सौन्दर्यीकरण, बास बस्ने गोठहरु निर्माण र होमस्टे लगायतका काम गर्न हाल सम्म १ करोड ३५ लाख रकम विनियोजन भएर काम भएको सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईले जानकारी दिए ।

यता फुङफुङे झरना क्षेत्रमा पदमार्ग तथा पार्टी निर्माणका लागि ८५ लाख बजेट बिनियोजन भई सकेको छ । आर्थिक बर्ष ०७४/०७५ मा ५० लाख र ०७५/०७६ मा ५० लाख विनियोजन भएपनि कामको प्रगति नभएपछि केही रकम फिर्ता भएको थियो । सो क्षेत्रमा पदमार्ग पाटी पौवा निर्माण गरिएको स्थानीयबासी बताउँछन् ।

पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार पाथीभरा पैदल मार्गमा ट्रस्ट निर्माण ८० लाख, पाथीभरामा विश्राम गृह निर्माणमा २४ लाख, रेस्क्यू सेन्टर तथा युटिलिटी २ करोड ३० लाख, पाथीभरा मन्दिर परिसर संरक्षण कार्यक्रम १ करोड, पाथीभरा अपलिप्टिङ खानेपानी सहलगानी आयोजना कुल ८ करोड २२ लाख, पाथीभरामा पूर्वाधार निर्माणका लागि पाथीभरा क्षेत्र विकास समितिमा प्राप्त हुने अनुदान बढेर प्रत्येक वर्ष १ करोड १० लाख विनियोजन भएको बताएका छन् ।

पाथीभरा क्षेत्रमा फोर जिको टावर समेत निर्माण भई सकेको छ भने नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन समेत पाथीभरामा पुर्याउने कार्य अन्तिम चरण पुगेको छ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेका अनुसार योगेश भट्टराई ताप्लेजुङको जनप्रतिनिधि भएपछि जिल्लाको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण कार्य भएको जनाउँदै पाथीभरा क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएको बताए ।

हाल सुकेटार देखि काफ्ले पार्टी सम्मको ११ किलो मिटरको बाटो कालोपत्रे गर्ने कार्य ५२ करोडमा ठेक्का समेत भई ठेकेदारबाट कार्य प्रारम्भ भएको जानकारी समेत अध्यक्ष थेबेले दिएका छन् ।

त्यस्तै जिल्लाको अन्य पर्यटकीय क्षेत्रको पर्यटन प्रर्वद्धन गर्नका लागि करोडौँ बजेट विनियोजन भई काम भएको नेकपा एमाले ताप्लेजुङका उपसचिव मणिशंकर पोमुले बताए ।


प्रतिक्रिया दिनुहोस्