गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ । बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए ।

कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो । उक्त बैठकबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिएका थिए ।

कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई/दुई जना सदस्य छन् । कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ ।

यो कार्यदलले टुंगो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले टुंगो लगाउनेछन् । सम्भवत आजको कार्यदल बैठकमा दलहरूले आ(आफ्ना दाबी पेश गर्दैछन् ।

नेपाली कांग्रेसभित्र आफूले ६० प्रतिशत सिट राखेर ४० प्रतिशत अन्य दललाई दिन दवाव छ । अन्य दलले पनि आफूहरूले सम्मानजनक सिट पाउनुपर्ने बताइरहेका छन् ।

गत स्थानीय चुनावको मतलाई मुख्य आधार मानेर सिट बाँडफाँट गर्न खोजिएको छ ।


प्रतिक्रिया दिनुहोस्