वैदेशिक रोजगारमा गएका युवाले दैनिक २ अर्ब ७४ करोड ५७ लाख नेपाल पठाउँदै प्रकाशित मिति : 24 July, 2022 9:04 am काठमाडौं । नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन् । आर्थिक वर्ष २०७८/०७१ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ । सबैभन्दा बढी फागुन, चैत, वैशाख र जेठ महिनामा बढी रेमिट्यान्स आएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी चैत महिनामा ९३ अर्ब ३८ करोड रुपैयाँ नेपाल भित्रिएको छ । फागुन महिनामा ९१ अर्ब, ७ करोड, वैशाखमा ८७ अर्ब ५ करोड, जेठमा ९३ अर्ब ३९ करोड भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । प्रत्येक वर्ष रेमिट्यान्स भित्रिने क्रम बढिरहेको छ । आव २०७७/०७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै आव २०७६/०७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ वैदेशिक रेमिट्यान्स भित्रिएको छ । यसरी रेमिट्यान्स भित्रिए पनि ७८.९ प्रतिशत रकम दैनिक गुजारा चलाउनकै लागि खर्च हुने गरेको केन्द्रीय तथ्यांक विभागको रिपोर्टले जनाएको छ ।