आज ८० नेपाली कामदार इजरायल उड्दै प्रकाशित मिति : 24 July, 2022 8:53 am काठमाडौं । दीर्घकालीन केयर गिभर (स्याहार केन्द्र) का लागि आज ८० जना नेपाली कामदार इजरायल उड्ने भएका छन् । वैदेशिक रोजगार विभागले इजरायल श्रमिक पठाउन गत फागुनदेखि रोकिएको प्रक्रिया शुरू भएको जनाएको छ । विभागका अनुसार आज साउन ८ अर्थात जुलाई २४ तारेखमा नेपालबाट ८० जना नेपाली कामदार इजरायल जाँदैछन् । काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट १ सय जना कामदारको भिसासहित राहदानी प्राप्त भइसकेको भएपनि ८० जनाको उडान हुन लागेको हो । इजरालय जानका लागि कामदारलाई आफ्नो राहदानी बुझ्न, उडान समूहमा नाम समावेश गराउन, कोरोनाविरुद्धको खोप कार्ड बुझाउन साउन ६ गतेका लागि समय निर्धारण गरिएकोे थियोे । इजरायल जाने कामदारले उडानअघि ७२ घण्टाभित्र पीसीआर परीक्षण गराएको हुनुपर्नेछ । परीक्षणमा नेगेटिभ आएकाहरु मात्र इजरायल उड्नेछन् । हवाई भाडा ५९ हजार ९९० रुपैयाँ तोकिएको छ । इजरायल जानेहरूका लागि नागपोखरीस्थित सीलिंक होलिडेले हवाई टिकट बिक्री गरेकोे छ ।