‘वर्ल्डकप’का लागि नेपाली कामदार लगिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा शुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि अल्पकालीन भिसामा नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधि भर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो ।

सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णय समेत गरेको छ । छोटो अवधिका लागि पठाउने भएकाले उनीहरुको श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको श्रम मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजिव पोख्रेलले जानकारी दिए ।

फुटबल प्रतियोगिताका लागि कामदारको माग आएको कुरा यसअघि कतारमा रहेको नेपाली दूतावासलाई रोजगारदाता कम्पनीले जानकारी गराएका थिए ।

आफुलाई जानकारी आएपछि दूतावसले मन्त्रालयलाई पत्र लेखेको थियो । मन्त्रालयले गरेको यो निर्णय अब फेरि कतारमा रहेको नेपाली दूतावासलाई पठाइने छ । यो निर्णयसँगै दूतावासले छोटो अवधिका लागि श्रमिक लैजान इच्छुक रोजगारदाताले ल्याएका माग प्रमाणीकरण गरेपछि कामदार पठाउन पाइने छ ।

विश्वकप फुटबलसम्मका लागि मात्रै नेपाली कामदार पठाइने भएकाले सरकारले शून्य लागतमा पठाउन सम्बन्धित कम्पनीहरुलाई अनुमति दिने छ । त्यस्तै मन्त्रालयले दुई तर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै व्यहोर्नु पर्ने निर्णय गरेको छ ।

त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि ६ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनी बाहेक व्यक्तिगतरूपमा यसरी छोटो समयको रोजगारीका लागि जान खोज्नेहरूले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्