नेपाल एयरलाइन्सद्धारा सञ्चय कोष र लगानी कोषलाई १ अर्ब ३५ करोड भुक्तानी प्रकाशित मिति : 22 July, 2022 9:24 am काठमाडौं । पछिल्लो पटक नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिदवापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरिएको छ । त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको हो । विगतमा विश्वव्यापी कोरोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी हुँदै गर्दा निगम पनि अप्ठ्यारो समयबाट गुज्रिनु परेको यथार्थकाबीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर परेको थियो । पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण उक्त किस्ता तिर्न सहज भएको निगमले जनाएको छ ।