आयल निगमले बुझायो आईओसीलाई १६ अर्ब ८० करोड प्रकाशित मिति : 20 July, 2022 9:56 am काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) लाई १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको छ । निगमका अनुसार तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम जुटेको थियो । त्यस्तै सरकारले उपलब्ध गराएको ७ अर्ब ऋण, राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब ऋण र ठूला करदाताले भ्याट फिर्ताबापत दिएको रकमबाट आईओसीलाई भुक्तानी गरिएको निगमले जनाएको छ । सरकारले ५ प्रतिशत ब्याजदरमा निगमलाई ५ वर्षका लागि ७ अर्ब रुपैयाँ ऋण दिएको हो भने राष्ट्रिय बाणिज्य बैंकले ९ प्रतिशत ब्याजदरमा ३ महिनाको लागि ३ अर्ब ऋण दिएको हो । ऋण तिरेपछि निगमले आईओसीसँगको बक्यौता रकम घटाएको छ । दायित्व स्वरुपको १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेपछि आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झरेको निगमले जनाएको छ । निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम ३१ अर्ब २० करोड थियो । निगमका अनुसार अब भुक्तानी हुन बाँकी रकम १४ अर्ब ४० करोडमा झरेको छ ।