घट्न थाल्यो सुनको मूल्य, असार महिनाकै कम मूल्यमा कारोबार प्रकाशित मिति : 7 July, 2022 1:08 pm काठमाडौं । अहिले असार महिनाकै कम मूल्यमा सुन कारोबार भइरहेको छ । साताको चौथो दिन हिजो बुधबार र पाचौं दिन आज विहीबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो । बुधबार एकैदिन सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजार ६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज विहिबार एक हजार ४०० रुपैयाँले घटेको छ । ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९४ हजार १०० सय रुपैयाँमा खरिदबिक्री हुँदैछ । यसअघि जेठ ४ गते, सुन पछिल्लो चार महिनायताकै सस्तो रहेको थियो । त्यस दिन सुन प्रतितोला ९५ हजार ८०० रूपैयाँमा झरेको थियो । उता विश्व बजारमा पनि सुनको मुल्य ह्वात्तै घटेको छ । अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण सुनचाँदीको बजार मुल्य खस्किएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ । महासंघका अनुसार विश्व बजारमा सुनको मुल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । बुधबार विश्व बजारमा सुन घटेरप्रति अउन्स एक हजार ७६१ डलरमा झरेको छ । सो बजारमा मंगलबार र बुधबार सुनको मूल्य नाटकिय रुपमा ओरालो लागेको छ । मंगलबार बिहान प्रति अउन्स एक हजार ८१२ डलर आसपासमा कारोबार भएको सुन त्यसयता भारी गिरावट भएको हो । एक महिनायता अनतरराष्ट्रिय बजारमा सुन एक अउन्स बराबर ८८ डलरले गिरावट भइसकेको छ । अमेरिकी डलर २० वर्ष यताकै उच्च र यूरो १९ वर्ष यताकै न्यून विन्दुमा पुगेपछि अन्तरराष्ट्रिय बजारमा त्यसको असर देखिएको हो । यसैगरी आर्थिक मन्दीको त्रासका कारण पनि यतिबेला सुनचाँदीको भाउ घटेको छ ।