सातवटै प्रदेशको बजेट सार्वजनिक, कुनको कति ? प्रकाशित मिति : 16 June, 2022 8:45 am काठमाडौं । सातवटै प्रदेशले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । १, प्रदेश १प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ । समपूरक अनुदान ९२ करोड र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख प्राप्त हुनेछ। बाँकी रकम मौज्जाद र वैदेशिक अनुदान मार्फत उपलब्ध हुने आङ्बोले बताए । २. मधेश प्रदेशमधेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गर्दै चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरिएको बताए । वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ। प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ । ३. बागमती प्रदेशबागमती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ। बजेट चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ । प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शाकिराम जम्मकट्टेलले प्रस्तुत गरेको बजेट अनुसार चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २.८१ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिति कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान छ । ४. गण्डकी प्रदेशगण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बुधबार प्रदेशसभामा पेस गरे । चालु आर्थिक वर्षमा भन्दा करिब ६ अर्ब बढी बजेट ल्याएका गण्डकी प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ ५० करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड रुपैयाँ छ । आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड, विशेष अनुदानतर्फ ८६ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ । ५. लुम्बिनी प्रदेशलुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ । जुन चालु वर्षको भन्दा करिब दुई खर्ब रुपैयाँ बढी हो । आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काद्वारा प्रस्तुत बजेटमा दाङको राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, रामपुर–रोल्पा सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर बजेट विनियोजन गरिएको छ । ६. कर्णाली प्रदेशकर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बजेट प्रस्तुत गर्दै पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ र चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको जानकारी गराए । वित्तीय हस्तान्तरणतर्फ ४ अर्व १ करोड ५७ लाख २९ हजार अर्थात १२.३१ प्रतिशत बजेट विनियोजन गरिएको छ। ७. सुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश सरकारले ३६ अर्ब ७४ करोडको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै चालु खर्चतर्फ १२ अर्ब २९ करोड र पुँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड ४७ लाख विनियोजन गरिएको बताए । वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ ।