बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने प्रकाशित मिति : 13 June, 2022 9:36 am काठमाडौं – प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ । बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिने भएका छन् । संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन तथा वातावरण मन्त्री, सहरी विकास मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कृषि तथा पशुपक्षी विकास मन्त्रीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नका विषयमा जवाफ दिने कार्यसूची छ । बजेटमा मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम आइतबार सकिएको थियो । सरकारले आगामी आर्थिक बर्षको बजेट १५ जेठमा संसदमा प्रस्तुत गरेको थियो ।