यू-१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपालले आज भुटानसँग खेल्दै प्रकाशित मिति : 6 June, 2022 9:15 am काठमाडौं । नेपालले आइसिसी यू-१९ महिला टि२० विश्वकप एसिया छनोटमा आज भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजे मलेसियाको किनरारा एकेडेमी ओभलमा सुरुहुनेछ । भुटान पहिलो र नेपाल दोस्रो जितको सोचमा छन् । नेपाल युएईसँग ८ रनमा अल आउट हुँदै आफ्नो इतिहासकै खराब प्रदर्शन गरेको थियो । ६ टोली सम्मिलित प्रतियोगितामा शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकपमा पुग्न नेपालले बाँकी सबै खेलमा फराकिलो अन्तरले जित्नुपर्छ । युएईसँग ८.१ ओभरमा नेपाल ८ रनमा अल आउट भएको थियो । पहिलो खेलमा भने कतारलाई ७९ रनले पराजित गरेको थियो । भुटान पहिलो खेलमा थाईल्यान्डसँग १ सय ३० रनले पराजित भएको थियो । १ सय ८३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ८ विकेट गुमाउँदै ५२ रन जोडेको थियो । भुटान युएईसँग १ सय ६० रनले पराजित भएको थियो । २ सय ३ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा ७ विकेट गुमाउँदै ४२ रन बनाएको थियो । समान दुई खेलमा नेटरनरेटमा माथि रहँदै युएई शीर्ष र थाईल्यान्ड दोस्रो स्थानमा छन् । नेपाल २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । मलेसिया २ अंकका साथ चौथो स्थानमा छ । अंक विहीन कतार पाँचौं र भुटान पुछारमा छ ।