ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले पालिका भित्र रहेका विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । आईतबार बसेको बैठकले पालिकामा रहेका ९ वटा माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म साथै आधारभुत विद्यालयहरुमा कक्षा एकसम्म यसै शैक्षिक सत्रबाट अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने निणर्य भएको पालिका अध्यक्ष राजन लिम्बू (मुत्ति) ले जानकारी दिए ।

उनले भने,“ जिल्लाको सबै भन्दा ठुलो र नेपालको तेस्रो ठुल यो पालिका पर्यटकीय दृष्टिकोणले अत्याधिक सम्भावना बोकेको पालिका हो । हाम्रो उद्देश्य पनि विशेष गरि पर्यटकीय क्षेत्रको विकास विस्तार गरि स्थानीयको आर्थिक स्तर वृद्धि गर्नु नै हो । विदेशी पर्यटकलाई पथ प्रर्दशक (गाईड) पालिका भित्रका जनशक्ति कै प्रयोग गर्नका लागि साथै आजको प्रतिस्पर्धात्मक बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन होस भन्ने उद्धेश्यले पहिलो प्रयास स्वरुप यसै शैक्षिक सत्रबाट माध्यमिक विद्यालयमा कक्ष १ देखि ५ कक्षासम्म साथै आधारभुत विद्यालयहरुमा कक्षा एकसम्म अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्न लागेका हौं । ”

त्यस्तै बैठकले गाउँपालिकामा रहेको अध्यक्षले चढ्ने गाडीलाई तत्कालका लागि आपत्तकालिन अवस्था तथा बिरामीका लागि स्वास्थयकर्मीको रिफर बमोजिम रुपमा जिल्ला सदरमुकामसम्म संचालन गर्ने निणर्य गरेको छ । आफुले अध्यक्ष भए पाउने गाडी स्थानीय बिरामी हुँदा तत्काल एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याउने लिम्बूले चुनावताका प्रतिवद्धता जाहेर गरेका थिए । कार्यपालिकाको बैठकबाट हिजो मात्रै निणर्य भएपनि यस अघि नै उनले बिरामीलाई सहयोग गर्न सुरु गरि सकेका छन् । शनिबार उपचारका लागि फत्ताङलुङ गाउँपालिका वडा नं. ४ ईखाबुकी ६३ वर्षीय रामप्यारी लिम्बूलाई पालिकाको गाडी मार्फत ताप्लेजुङ जिल्ला अस्पतालसम्म पुर्‍याउने प्रवन्ध गरि सकेका छन् । पथरीया र जण्डिजको समस्याबाट ग्रसित उनलाई पालिकाको गाडिले छिरुवाबाट जिल्ला अस्पतालसम्म पुर्‍याएको छ ।

साथै बैठकले ज्येष्ठ नागरिकलाई सहजता होस भन्ने उद्देश्यले हाल वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्तालाई वैंकसंगको समन्वय र बडाअध्यक्षको रोहोबरमा वडा कार्यपालिमा रहेको कर्मचारीले वितरण गर्ने तथा सो को जवाफदेहि वडाअध्यक्षले लिने निणर्य भएको पालिका उपाध्यक्ष रविन साम्रा लिम्बू (विकास) ले बताए ।

फत्ताङलुङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठकको निणर्य हेर्नुस :


प्रतिक्रिया दिनुहोस्