इतिहासमै पहिलोपटक कञ्चनजंघामा नेपाली सेना
ताप्लेजुङ । विश्वको तेश्रो अग्लो शिखर कञ्चनजंघामा शनिबार बिहान नेपाली सेनाको टोली पुगेको छ । नेपाली सेनाले इतिहासमै पहिलोपटक कञ्चनजंघा आरोहण गरेका हुन् ।
सेनाको अगुवाइमा हिमाल सफाइ अभियान अन्तर्गत गएका क्याप्टेन राजु श्रेष्ठ र सिपाही अमित थापाको टोली बिहान ५ बजेर ५० मिनेटमा शिखरमा पुगेको सफाइ अभियानको ह्यान्डलिङ एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक आङबाबु शेर्पाले जानकारी दिए ।
टोलीमा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक छिरिङ जाङबु शेर्पा, फुर्वा शेर्पा, ङिमा छिरिङ शेर्पा र छेवाङ शेर्पा छन् । दुई नेपाली सेनासहित हिमाल सफाइ अभियानका ६ जना शिखरमा पुगेका हुन् ।
समुन्द्री सतहदेखि ८ हजार ५ सय ८६ मीटरको कञ्चनजंघालाई प्राविधिक रुपमा आरोहण गर्न कठिन हिमाल भनेर चिनिन्छ ।