विदेशी मुद्रा सञ्चिती अभाव अझै बढ्ने संकेत प्रकाशित मिति : 28 April, 2022 8:59 am काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल कायम विदेशी मुद्रा सञ्चिती अभाव अझै बढ्ने संकेत गरेका छन् । नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आर्थिक कृयाकलापसँगै रकमको माग अधिक बढ्ने भएकाले विदेशी मुद्राको सञ्चितीमा सुधार नआउने बताएका हुन् । कोभिड संक्रमण र त्यसको असर क्रमिक रुपमा बढिरहेको अवस्थामा अर्थतन्त्रमा त्यसको चाप प्रत्यक्ष रुपमा पर्ने भएकाले विदेशी मुद्रा सञ्चितीको हालको अवस्था झनै कमजोर बन्ने उनको भनाई छ । शोधनान्तर स्थिति खस्किँदै गएको र त्यसका सुधार तत्काल नआउने भन्दै त्यसले आयातलाई समर्थन गरिरहँदा समस्या बढ्ने उनको भनाई छ । अर्थतन्त्रको पुनरुत्थान हुँदै जाने बताएका गभर्नर अधिकारीले असहज अवस्थामा सबै पक्षले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । अर्थतन्त्रमा समस्या देखिँदै गएको अवस्थतामा केन्द्रिय बैंकले केही नीतिगत व्यवस्थाबाट अर्थतन्त्रलाई सहज बनाउने प्रयास गरेको बताएका अधिकारीले तरलता अभावका कारण व्याजदर बढेको बताए । रेमिट्यान्समा १ प्रतिशत बढी ब्याज, सुन चाँदीको आयातमा कडाई, रिपोदर वृद्धि, नगद मार्जिन, एनआरएनलाई डलर खाता, पुनरकर्जा दर ७ प्रतिशत कायम, घर जग्गा तथा सेयर कर्जा जोखिमको भार वृद्धि जस्ता व्यवस्थाले समस्या न्यूनीकरणमा मद्धत पुगेको उनको भनाई थियो ।