आजबाट निष्कासनमा आयो बलेफी हाइड्रोपावरको आईपीओ, कति कित्ता ? प्रकाशित मिति : 30 March, 2022 8:06 am काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आइपीओ निष्काश गरेको छ । बलेफी हाइडोपावरले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आइपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ गतेदेखि फागुन २६ गतेसम्म विक्री खुला गरी चैत ६ गते बाँडफाँड गरेको थियो । दोस्रो चरणमा पनि सोही अनुपातमा सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्काशनमार्फत विक्रीमा आउन लागेको हो । आईपीओ खरीदका लागि छिटोमा चैत २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा चैत ३० गतेसम्म आईपीओ विक्रीको मिति कम्पनीले तय गरेको छ । तर यस अघिको आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा चैत २१ गतेसम्म मात्र यस आईपीओ विक्रीमा रहने देखिन्छ । यस आईपीओ खरीदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यस आईपीओलाई इक्रा नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षामतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ ।