ताप्लेजुङ समाजद्वारा आगलागी पीडितलाई गरेको सहयोगको विवरण सार्वजनिक प्रकाशित मिति : 24 July, 2021 10:16 pm ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारको भीषण आगलागीमा परेका पीडित परिवारलाई ताप्लेजुङ समाज नेपालले गरेको सहयोग रकमको हर हिसाब शुक्रबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरेको छ । देश तथा विदेशबाट गरेर जम्मा ११ लाख ९७ हजार एक सय चौहत्तर रुपैयाँ संकलन भएकोमा दोभानका आगलागी पीडितलाई १० लाख एक हजार रुपैयाँ प्रतिनीधिसभा सदस्य तथा पुर्व मन्त्री योगेश भट्टराईको उपस्थितीमा २०७८ असार २१ गते हस्तान्तरण गरिएको थियो । त्यस्तै समाजको कार्यसमितीबाट संकलन भएको रकम मध्ये १ लाख ९६ हजार एक सय चौहत्तर रुपैयाँ भने तत्कालको समयमा पुनः बाढी पहिरोका कारण जो कोहीलाई तत्काल राहत वितरण गर्न सकियोस् भन्नका लागि कुम्भकर्ण आपतकालीन कोषमा जम्मा गरिएको समाजका महासचिव अग्नी पौडेलले बताउनुभयो । उक्त संकलन गरिएको रकम छोटो समयमा देश तथा विदेशमा छरिएर रहनुभएका आम नेपाली साथै विशेष गरेर ताप्लेजुङबासीहरुले आफ्नो स्वइच्छाले केही समय अगाडी नै संकलन गरिएको भएपनी वितरण गर्ने समयमा कोरोना भाइरसका कारण ढिलो हुन गएको पनि बताउनुभयो । उक्त कार्यक्रमका सभापति तथा ताप्लेजुङ् समाज नेपालका अध्यक्ष डम्बर बहादुर तुम्बाहङ्फेले भने देश तथा विदेशबाट आएको जति सहयोग भएपनी आवत जावतमा लाग्ने खर्च सहयोग रकमबाट अहिलेसम्म खर्च नगरिएको र आगामी दिनमा पनि आफ्नै गोजीबाट खर्च गर्ने समेत बताउनुभयो । कार्यक्रममा बोल्दै समाजका उपाध्यक्ष रमेश बरालले भन्नुभयो ूताप्लेजुङ जिल्लाका लागि यो संस्थाले अहिलेमात्र नभएर आगामी दिनमा पनि यस्ता प्राकृतिक विपद साथै अन्य समस्यामा रहेकाको लागि पनि अग्र भागमा रहेर काम गर्न हरदम तयार छौँ । साथै आगामी दिनमा जिल्लाभित्र मात्र नभएर देशैभरी पनि सहयोगको लागि सकेसम्म पहल गर्ने पनि बताउनुभयो । त्यस्तै समाजका सल्लाहकार समिती सचीव तथा पुर्व सांसद पासाङ शेर्पाका अनुसार यो संस्थाले धेरैवटा कार्यहरु गरेपनी चर्चा हुन नसकेको र आगामी दिनमा यसलाई अझ व्यवस्थित गर्दै लैजाने पनि बताउनुभएको छ । यस राहत संकलनमा संयुक्त किराँत समाज बेल्जियम र पूर्वेली समाज बेल्जियमबाट २ लाख ९० हजार आठ सय अठहत्तर रुपैयाँ, ताप्लेजुङ परिवार क्यानडा बाट १ लाख ५३ हजार रुपैयाँ, अस्ट्रेलियाबाट ८० हजार, युकेबाट ३४ हजार, सुरज र आशा हङ्कङ बाट २५ हजार रुपैयाँ, सिता राना र मनु थक्लुङ्द्वारा संकलन गरेर ७५ हजार ३ सय ८० रुपैयाँ, एकता होटल तथा गेस्ट हाउसबाट ५० हजार रुपैयाँ, ताप्लेजुङ समाजको कार्यसमिति सदस्य तथा अन्यबाट नेपालमा संकलित २ लाख ९२ हजार ७४२ रुपैयाँ र कुम्भकर्ण आपतकालीन राहत कोषबाट १ लाख ९६ हजार १७४ रुपैयाँ संकलन भएको महासचिव पौडेलले बताउनुभयो । गत फागुन १८ गते दोभानमा भएको आगलागीबाट दोभानमा ४९ घर पुर्ण रुपमा जलेर नस्ट भएका थिए भने ७९ परिवार विस्थापित भएका थिए । सहयोगी दाताहरुको नामावली यसप्रकार रहेको छ ।Dobhan-Aggni-pidit-sahayog-rakam-bibaran-Download