मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित प्रकाशित मिति : 16 March, 2021 2:08 pm काठमाडौं । लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले हुएस्कालाई ४–१ गोलले हराउँदै स्पेनिस ला लिगाको दोस्रो स्थानमा पुनः उक्लिएको छ । खेलमा मेस्सीले ज्याभीले बनाएको बार्सिलोनाका लागि सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान पनि बराबरी गरेका छन् । सन् २००४ मा डेब्यू गरेका मेस्सीले बार्सिलोनाका लागि ७६७ खेल खेलेका छन् । मेस्सीले खेलको १३ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । एन्टोनी ग्रिजमानले ३५ औँ मिनेटमा अग्रता दोब्बर बनाए पनि पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत् हुएस्काले एक गोल फर्कायो ।तर, दोस्रो हाफको शुरुवातमा नै ओस्कार मिनगुएजाले गोल गर्दै बार्सिलोनाको अग्रता पुनः फराकिलो बनाए । खेलको अन्तिम मिनेटमा मेस्सीले अर्को गोल थपे । बार्सिलोनाका लागि उनको ६६१ औँ गोल थियो । ३३ वर्षीय अर्जेन्टिनी फरवार्डले बार्सिलोनामा रहँदा १० वटा ला लिगाको उपाधिको साथै चारवटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् । १६ अक्टोबर २००४ मा बार्सिलोनाका लागि पहिलो खेल खेलेका मेस्सीले त्यसयता क्लबसँग ३४ वटा उपाधि जितेका छन् । आइतबार रियल सोसिडाडविरुद्धको खेलमा उनले ज्याभीको कीर्तिमान भंग गर्नेछन् ।जीतपछि बार्सिलोनाको २७ खेलबाट ५९ अंक रहेको छ र शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा ४ अंकले पछि रहेको छ ।