अल्जेरियामा सैनिक विमान दुर्घटना २५७ जनाको मृत्यु प्रकाशित मिति : 11 April, 2018 6:36 pm अल्जेरिया / चालक दलका १० सदस्यसहित २५७ यात्रु लिएर उडेको अल्जेरियाको एक सैनिक विमान वुधबार दुर्घटना भएको छ । राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट दक्षिणपश्चिम अल्जेरियाको टिन्डोफका लागि उडेको केही बेरमै विमान दुर्घटनामा परेको अल्जेरियाली अधिकारीले बताएका छन् । इल्युशिन २–७६ विमानमा यात्रारत अधिकांश सैनिक अधिकारी र उनीहरूका परिवारका सदस्य रहेका र दुर्घटनामा सम्पूर्ण व्यक्तिको निधन भएको अल्जेरियाली अधिकारीले जनाएका छन् । घटनास्थलमा पुगेका एएफपी फोटो पत्रकारले अल्जेरियाको बोफारिक हवाई शिविर नजिकै विमान जलेर ध्वस्त भएको अवस्थामा देखेको बताएका छन् । अल्जाएर्सको दक्षिणपश्चिमी क्षेत्रबाट घटनास्थलतर्फ सयौँ एम्बुलेन्स तथा दर्जनौँ दमकल साइरनसहित गएका उनले बताए । अल्जेरियाका रक्षामन्त्रीले एक विज्ञप्ति जारी गरी विमानमा यात्रारत १० जना चालक दलका सदस्यसहित २४७ यात्रुको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उपरक्षामन्त्री जनरल अहमद गाइद सालेहले विमान दुर्घटनास्थलमा पुगी घटनाको विवरण लिनुभएको रक्षा मन्त्रालयले बताएको छ । अल्जेरियाको कोन्सटेन्टाइनमा यस पहिले सन् २०१४ को फेब्रुवरीमा भएको विमान दुर्घटनामा ७७ जनाको मृत्यु भएको थियो भने सोही बर्ष जुलाईमा भएको अर्को अल्जेरियाली विमान दुर्घटनामा ११६ जनाको निधन भएको थियो । रासस/एएफ्पी