नेताद्वय नेपाल र खनालले भने– पार्टी निर्णयलाई कसैले दायाँबायाँ गरेर चुनौती दिन सक्दैन्

काठमाडौं । नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी निर्णयलाई कसैले दायाँबायाँ गरेर चुनौती दिन नसक्ने बताएका छन् । केन्द्रीय सचिवालयको शनिबारको बैठकमा दुवै वरिष्ठ नेताले त्यस्तो बताएका हुन् ।

वरिष्ठ नेता नेपालले अहिले पार्टीभित्रको समस्यालाई दुई अध्यक्षबीचको विवाद र असमझदारीका रूपमा बुझ्ने कुरा नै गलत भएको बताएका थिए । ‘यो खालि दुई अध्यक्षको मात्रै कुरा होइन, हामी सबैको साझा कुरा हो । यो कुरालाई सबैले आत्मसात् गर्नुपर्छ,’ नेपालको भनाइ थियो, ‘तर, कमरेड केपीमा त्यो कुरा देखिएन । पार्टीको निर्णयलाई सबैले मान्नुपर्छ ।’

अर्का वरिष्ठ नेता खनालले दुवै प्रस्तावमाथि बैठकमा छलफल भएपछि निर्णयलाई सबैले मानेर जानुपर्ने बताएका थिए । ‘प्रस्तावमाथि बैठकमा छलफल गरौँ, बैठकको निर्णय सबैले मान्नुपर्छ, कसैले दायाँबायाँ गर्न पाउँदैन । बैठकभन्दा ठूलो कोही छैन, कोही हुँदैन ।’ खनालको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने ।

चार नेता मौन
बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ तथा महासचिव विष्णु पौडेल भने मौन बसेका थिए । दुई अध्यक्ष, दुई वरिष्ठ नेता र उपाध्यक्षले धारणा राखेपछि अरूले पनि बोल्न खोजे पनि अर्को बैठकमै विस्तृत छलफल गर्न सकिने भनिएपछि १६ मंसिरका लागि सचिवालय बैठकको मिति तोकेर शनिबारको सचिवालय बैठक स्थगित भएको थियो । नयाँ पत्रिका दैनिकबाट


प्रतिक्रिया दिनुहोस्