प्राविधिकलाई अभिनेत्री पुजा शर्माको २ लाख बराबरको खाद्यान्न सहयोग प्रकाशित मिति : 5 April, 2020 6:34 pm काठमाडौं । अभिनेत्री पुजा शर्माले २ लाख बराबरको खाद्यन्न सामाग्री किनेर प्राविधिकहरुलाई सहयोग गर्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण अहिले नेपाल लकडाउनमा रहेको बेला नेपाली फिल्मका सम्पूर्ण गतिविधि ठप्प भएपछि फिल्ममा ज्याला मजदुरी गर्ने प्राविधिकहरुलाई सहयोग गर्ने भएको हो । बिहान बेलुकाको छाक टार्न समस्या हुने प्राविधिकहरुलाई सहयोगका लागि प्राविधिक संघले विपन्नता व्यवस्थापन कोष समेत खडा गरेको छ । कोरोनाका कारण एक महिनायता प्राविधिकहरुको साझा संस्था चलचित्र प्राविधिक संघले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई सहयोग गर्न अपिल गरेपछि अहिले विभिन्न व्यक्तिबाट सहयोग रकम जुटिरहेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकार िदिनुभयो । आइतवारबाट प्राविधिकहरुको घरमै राहत सामाग्री पुर्याउने तयारी गरिएको अध्यक्ष लामाले जानकारी दिए । प्राविधिकलाई ३ हजार रुपैयाँ बराबरको राहत प्याकेज स्वरुप एक बोरा चामल, दाल, खाने तेल, नुनजस्ता अत्यावश्यक खाद्यन्न सामाग्री प्रदान गरिने उनले बताए । संघमा आबद्ध १३ सय सदस्यमध्ये आइतबार र सोमबार गरि तीन सयलाई राहत वितरण गरिनेछ । यस अघि चर्चित हास्यब्यङग्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले १ लाख १० हजार प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेपछि अन्य फिल्मकर्मीहरुले पनि सामाजिक सञ्जालको माध्यमबाट सहयोग रकम घोषणा गरिरहेका छन् । अभिनेता पल शाहले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे लगत्तै अभिनेत्री पूजा शर्माले पनि २ लाख बराबरको खाद्यन्न प्राविधिकको परिवारलाई वितरण गर्ने भएकी हुन । त्यस्तै, अभिनेत्री वर्षा राउतबाट ५१ हजार सहयोग रकम प्राप्त भएको पनि उनले बताए । शनिवार थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै सरकार लकडाउनको अवधि तेस्रो पटक पनि लम्ब्याउने तयारीमा छ ।