चितुवाको आक्रमणबाट बालिकाको मृत्यु प्रकाशित मिति : 10 March, 2020 5:04 pm बैतडी २७ फागुन / बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ। ओछ्यानमा सुतिरहेकै अवस्थामा चितुवाले आक्रमण गर्दा मेलौली नगरपालिका ९ का पदमराम लुहारकी ८ वर्षीया छोरी सीता लुहारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। ओछ्यानबाटै लुहारलाई चितुवाले लगेर ५ सय मिटर पर सीताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। फाईल तस्विर चितुवाको आक्रमणबाट मृत्यु भएकी सीता अपांगता भएकी व्यक्ति रहेको बुझिएको छ। चितुवाले आक्रमण गर्दा घर परिवार र अन्य छरछिमेकले होहल्ला गर्दागर्दै चितुवाले सीतालाई ओछ्यानबाटै लगेको हो । यही फागुन २१ गते राति पनि चितुवाको आक्रमणबाट शिवनाथ गाउँपालिका – ४ खडितका १५ वर्षीय किशोर हर्कबहादुर साउँद घाइते भएका थिए। २०६८ साल यता बैतडीमा नरभक्षी चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ। चितुवाले ओछ्यानबाटै बालिका लगेपछि स्थानीय थप त्रासमा परेका छन्। चितुवाले घरभित्रै पसेर क्षति पुर्याउन थालेपछि गाउँमा त्रास फैलिएको वडा नं ९ का अध्यक्ष नारद भट्टले बताए। गाउँमा चितुवाको त्रासले बालबालिकालाई विद्यालय पठाउनसमेत समस्या भएको उनले बताए। ओछ्यानबाटै बालिकालाई चितुवाले लगेपछि गाउँघरमा त्रास फैलिएको उनले बताए।