प्रोब्लम बेस्ड लर्निङ सेमिनार’मा १० वटा विश्वविद्यालयका प्रतिनिधि सहभागी

काठमाडौं । विद्यार्थी आफैंले आफनो समस्याको समाधान आफैंले गर्न सकून भन्ने उद्देश्यका साथ राजधानीमा समस्यामा आधारित सिकाई विषयमा एकदिने सेमिनार भएको छ । ‘प्रोब्लम बेस्ड लर्निङ सेमिनार’मा नेपाल, भारत, भुटान, नेदरल्यान्ड्स, लिथुआनिया र फिनल्यान्डका १० वटा विश्वविद्यालयका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीको सहभागिता थियो ।


सेमिनारमा नेपालबाट काठमाडौं विश्वविद्यालय, सगरमाथा इन्जिनियरिङ कलेज, नेपाल इन्जिनिरिङ कलेज भक्तपुर र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टको सहभागिता रहेको थियो । सेमिनारमा भारतबाट मुम्बईको आइआइटी, बैंगलोरको आइआइसी, फिनल्यान्डको अल्टो युनिभर्सिटी, नेदरल्यान्डको टियु डेल्ट विश्वविद्यालय, लिथुआनियाको केटियु र भुटानको रोयल विश्वविद्यालयका विज्ञहरूको सहभागिता थियो ।


प्रत्येक देशका विश्वविद्यालयका विज्ञहरूले आफ्नो देशको शिक्षण सिकाइ प्रविधिबारे अनुभव आदानप्रदान गरेका थिए । विद्यार्थीले किताबी ज्ञानभन्दा पनि वास्तविक समस्यामा आधारित ‘प्रोजेक्ट वर्क’ गर्दा राज्यलाई समेत सहयोग मिल्ने कार्यक्रममा सहभागीहरुले बताए ।
शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्माले सेमिनारले विद्यार्थीलाई प्राज्ञिक प्रशिक्षणको चुनौतीलाई वास्तविकतासँग जोड्न सकिने बताए ।

उनले विद्यार्थीले समस्यामै आधारित भएर कार्ययोजना सम्पन्न गरे आलोचनात्मक र व्यवस्थित विचार विकास गर्ने र यसबाट उनीहरू स्थलगत कार्यपद्धति बनाउन सक्ने सक्षम हुने बताए । सेमिनारमा सहभागी सबै देशका विश्वविद्यालयका विज्ञहरूले समस्यामा आधारित शिक्षण सिकाइबारे प्रस्तुति गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्