लिबाङ सयङद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान प्रकाशित मिति : 27 October, 2024 5:58 pm काठमाडौँ । केत्तकुम लिबाङ पाङ्पत सयङले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सयङले देशभरबाट २०८० सालको एसईई परीक्षामा सामेल भई उत्कृष्ट नतिजा ल्याउन सफल पाङ्पत लिबाङ वंशभित्रका एक छात्र र छात्रालाई नगद रु १० हजार र सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।उत्कृष्ट भई सम्मानित हुनेमा फालेलुङ – ५ प्राङबुङ पाँचथरका अनमोल पाङ्पत लिबाङ र मिक्वाखोला – ३, लिबाङ चिनाबुङ ताप्लेजुङकी नुहिमा पाङ्पत लिबाङ रहेका छन् । पाँचथरका अनमोल लिबाङले सहिद स्मृति आवासीय माध्यमिक विद्यालय इटहरी – १९, भवानीपुर सुनसरीबाट सामेल भई (३.४९) ग्रेड –जिपिए) प्राप्त गरी छात्रतर्फ उत्कृष्ट भएका हुन् भने ताप्लेजुङ लिबाङकी नुहिमा लिबाङले लिटल बुद्द माध्यमिक विद्यालय फुङलिङ ताप्लेजुङबाट सामेल भई (३.०६) ग्रेड –जिपिए) प्राप्त गरी छात्रातर्फ उत्कृष्ट भएकी हुन् । सयङको केन्द्रीय समितिको कार्यक्रम अनुसार अनमोल पाङ्पत लिबाङलाई सुनसरी शाखाको आयोजनामा धरान सुनसरीमा र नुहिमा पाङ्पत लिबाङलाई लिबाङ शाखाको आयोजनामा ताप्लेजुङ लिबाङमा सम्मान गरिएको हो ।शैक्षिक क्षेत्रको विकासमा टेवा पुर्याउने र प्रोत्सहान गर्ने उदेश्यले केत्तकुम लिबाङ पाङ्पत सयङ केन्द्रीय समितिले एक अक्षयकोषको स्थापना गरी कार्यक्रमको सुरुवात गरेको सयङका केन्द्रीय अध्यक्ष लोकेश लिबाङले बताए । उनका अनुसार यस सम्मान कार्यक्रमले आम विद्यार्थीलाई प्रोत्साहन गर्ने साथै नयाँ आउने पुस्तालाई पनि हौसला मिल्ने विश्वास व्यतm गरे ।पढाइलाई निरन्तरता दिनको लागि प्रेरित गर्न जेहेन्दार तथा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रत्येक वर्ष सम्मान गर्ने र अन्य विद्यामा पनि पुरस्कृत गरिने अध्यक्ष लिबाङले बताए । उनले अभिभावक, शिक्षक विद्यार्थी एकिकृत भएर अगाडि बढेमा मात्र विद्यार्थीहरुको संर्वाङगीण विकास गर्न सकिने प्रष्ट पारे । कार्यक्रममा जनप्रतिनिधी तथा विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो ।