कीर्तिपुरमा मेयर कप बास्केटबल अर्को महिना

काठमाडौं, २५ चैत / कीर्तिपुर नगरपालिकाको आयोजनामा अर्को महिना प्रथम मेयर कप ३ नम्बर प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ । कीर्तिपुर नगरपालिकाले राजधानीमा पत्रकार सम्मेलन गर्दै मयर कप बास्केटबलको पहिलो संस्करणको ३ बैशाख २२ गतेबाट २९ गतेसम्म कीर्तिपुरको खेल मैदानमा हुने जानकारी दियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहने कीर्तिपुर नगरपालिकाका मेयर तथा नेपाल जुडो संघका उपाध्यक्षसमेत रहेका रमेश महर्जनले बताए । सहभागी टोली चार समूहमा विभाजन गरिनेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा सम्बन्धित नगरको कम्तीमा ८ जना खेलाडी हुनुपर्ने प्रावधान छ । नगर बाहिरका ४ खेलाडी राख्न पाउने भएपनि प्लेइङ सेटमा २ जना मात्र खेलाउन पाउने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक स्कोरकर्ताले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा झन्डै ५ लाख ५० हजार रुपैयाँ खर्च हुने र सबै खर्च आयोजक नगरपालिकाले नै बेहोर्ने बताएको ।


प्रतिक्रिया दिनुहोस्