गायक मिक्का सिंहलाई भारतमा प्रतिबन्ध, सलमानलाई पनि प्रतिबन्धको सम्भावना प्रकाशित मिति : 21 August, 2019 6:05 pm दिल्ली भदौं ४ / बलिउड स्टार गायक मिका सिंहलाई भारतमा प्रतिबन्ध लागेको छ । उनले पाकिस्तानका पूर्व राष्ट्रपति पर्वेज मुशरफको पारिवारिक विवाह भोजमा सरिक भएको र गीत गाएको कारण अखिल भारतीय चलचित्र मजदुर संघले प्रतिबन्ध लगाएको हो । यसैबीच सलमान खान अमेरिकाका शहरहरुमा आफ्नो ‘शो’ लिएर जाँदैछन् । जसमा मिका सिंह पनि सहभागी हुनेछन् । उक्त कुराको हल्ला चलेपछि संघले यदि सत्य हो भने सलमान खानलाई पनि प्रतिबन्ध लाग्ने चेतावनी दिएको छ । आयोजकले कुनै पनि शोहरुमा सलमान र मिकाको भेट नहुने बताएको छ । सलमानका भाइ सोहेल खानको कम्पनीले उक्त शोहरु आयोजना गरेको हो । कम्पनीले मिकालाई अनुबन्ध नगरेको तर, अमेरिकास्थित स्थानीय कम्पनीले अनुबन्ध गरेको भए आफूलाई थाहा नभएको जनाएको छ । चलचित्र मजदुर संघले मिकालाई प्रतिबन्ध लागेको अवस्थामा जोकोहीले उनीसँग काम गर्छ उ पनि प्रतिबन्धित हुने कुरा स्पष्ट पारेको छ । मिकालाई प्रतिबन्ध लागेपछि कुनै पनि कलाकार उनीसँग नजिकिएका छैनन् । मिकाले आफूले गल्ती गरेको स्वीकारी सकेपछि पनि उनको प्रतिबन्ध फुकुवा भएको छैन । एजेन्सी