४–३ गोलले पाराग्वेलाई हराउँदै ब्राजिल सेमिफाइनलमा प्रवेश

काठमाण्डौ असार १३ / आयोजक ब्राजिल कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सुक्रबार बिहान भएको प्रतिस्प्रर्धात्मक खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टीमा गएको खेलमा ब्राजीलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट प्रदर्शन गरे ।

निर्धारित समयमा खेलमा ब्राजीलले प्रभाव जमाएपनि गोल गर्न सकेन । ५८औं मिनेटमा रक्षक फेबियन बालबुना रातो कार्ड पाउँदै बाहिरिएपछि पाराग्वे १० खेलाडीमा समेटिएको थियो । ब्राजीलका फिर्मिन्हो फल हानेपछि रेफ्रीले फेबियनलाई रातो कार्ड दिएका थिए । पेनाल्टीमा ब्राजिलका विलियम, मार्किन्होस, फिलिप कोउटिन्हो र ग्याब्रियल जिससले गोल गरे । रोबर्टो फिर्मिन्होको प्रहार बाहिरिएको थियो ।

यसैगरी पाराग्वेका मिगुएल अल्मिरान, बरुनोे वाल्डेज, रोड्रिगो रोजासको पेनाल्टी प्रहार सफल भएको थियो । गुस्तावो गोमेज र डार्लिस गोन्जालेज पेनाल्टीमा चुकेका थिए । सेमिफाइनलमा ब्राजिलले भेनेजुएला र अर्जेन्टिनाबीचको विजेतास‌ँग खेल्नेछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्