नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित प्रकाशित मिति : 9 June, 2019 2:08 pm अरुणपोष्ट संवाददाता काठमाडौं २६ जेठ / नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । लामो समयको मतभेद र विवादपछि शनिबार सम्पन्न संघको साधारण सभामा २१८ मत प्राप्त गरेका खड्काले लामिछानेलाई ५७ मत अन्तरले हराउँदै विजयी भएका हुन् । संघको उपाध्यक्षमा सानुकुमार ताम्राकार, रेजिना उप्रेती, मनोजकुमार केसी र विनोदकुमार भट्टराई प्रतिस्पर्धामा थिए । जसमध्ये रेजिनाले २४३, र सानुकुमारले १७५, प्राप्त गरेर उपाध्यक्षमा विजयी भएका थिए । महासचिव पदका लागि चेतबहादुर सिंह (राजा) र सञ्जय खतिवडा बीच प्रतिस्पर्धा भएको थियो । जसमा चेतबहादुर १८७ मत ल्याई विजयी भएका छन् । सचिव पदमा पनाह अधिकारी, कोषाध्यक्ष पदमा सुनिल कटुवाल, सहकोषाध्यक्षमा पवित्रा र सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् । खड्का ०४८ मा विधिवत् गठन भएको कलाकार संघको संस्थापक अध्यक्ष पनि हुन् । झन्डै २८ वर्षपछि पुनः अध्यक्षको जिम्मेवारी पाएका खड्काले महाधिवेशनमा संघको भवन निर्माण, कलाकारको सुरक्षा लगायका बिषय एजेन्डाको रुपमा अगाडि सारेका थिए । बिजय पछि खड्काले आफ्नो जित सम्पुर्ण व्यवसायी कलाकारको जित भएको प्रतिक्रिया दिएका छन ।