बार्सिलोनाको लिभरपुलमाथि शानदार जित ,मेस्सीको २ गोल प्रकाशित मिति : 2 May, 2019 5:30 am एजेन्सी / च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा इन्ग्लिश क्लब लिभरपुललाई ३-० गोलले पराजित गरेको छ । क्याम्प नाउमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै लुइस स्वारेजले एक गोल गरे । बार्सिलोनाले खेलको २६ औं मिनेटमा स्वारेजको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । योसंगै स्वारेजले सिजनको पहिलो च्याम्पियन्स लिग गोल गरे । पुर्व क्लबविरुद्ध स्वारेजको यो पहिलो गोल समेत हो । पहिलो हाफमा १-० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो । जसमा कप्तान मेस्सी नायक बने । खेलको ७५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८२ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । लिभरपुलविरुद्धको दुई गोलसंगै मेस्सीले बार्सिलोनाका लागि ६ सयौं गोल पुरा गरेका छन् । घरेलु टोलीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि लिभरपुलले गोल गर्न सकेन । लिभरपुलले पाएको केहि गोलको अवसर समेत खेर फालेको थियो । पहिलो लेगको जितसंगै बार्सिलोनाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दुई टोलीबीचको दोस्रो लेग लिभरपुलको मैदान एनफिल्डमा हुनेछ । उक्त खेलमा बार्सिलोनालाई बराबरीले फाइनल प्रयाप्त हुनेछ । यसअघि बार्सिलोनाले क्वाटरफाइनलमा म्यानचेस्टर युनाईटेडलाई समग्रमा ४-० गोल अन्तरले पराजित गरेको थियो ।