खानेपानी मन्त्रीको निर्देशनमा झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स पठाइयो प्रकाशित मिति : 30 April, 2019 2:56 pm काठमाडौं । दूषित खानेपानीका कारण झाडा पखाला प्रभावित गुल्मीको मुसिकोट नगरपालिका वडा नं। ४ स्थित दजाकोट क्षेत्रमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् वाटर एम्बुलेन्स पठाएको छ । झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्री बिना मगरको निर्देशनमा विभागले पानी शुद्धीकरण चेक जाँच गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभागको विज्ञ टोली दजाकोट गएको छ । स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ । उक्त ल्याबको माध्यमबाट पानीको गुणस्तर चेक जाँच गरिन्छ । केही दिन देखि झाडापखाला फैलिएका कारण गुल्मीको दजाकोटमा एकको मृत्यु भएको छ भने करिब २ सय मानिसहरु बिरामी परेका छन् । त्यहाँको खानेपानीमा कोलिफर्म भएको बताईएको छ । दूषित पानीका कारण सिंगो गाउँकै जनजीवन प्रभावित भएको छ । ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने लगायतका समस्याले दजाकोटमा महामारी फैलिएको छ । त्यस क्षेत्रको पानीको मुहानमा धेरै कोलिफर्म भेटिएकाले झाडा पखालाको प्रकोप बढेको विज्ञहरुको भनाई छ । पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाईने पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले बताउनुभयो ।