नियम विपरित काम गर्ने १ सय ९७ म्यानपावर खारेज

काठमाण्डौ १५,बैशाख / नियम विपरित काम गर्ने,एक वर्षमा सय जना पनि कामदार नपठाउने र समयमा नवीकरण नगर्ने १ सय ९७ वटा म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको छ ।

म्यानपावरले वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती देखिएमा त्यस्ता म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गर्ने गरेको छ । एजेण्ट र दलालहरुले खारेजीमा परेका म्यानपावरको नाम लिएर पनि ठग्ने भएकाले सचेत हुन पनि विभागले सबैलाई आग्रह गरेको छ ।

विभागले खारेज गरेपछि म्यानपावरले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै काम गर्न पाउने छैनन।अहिले विभागमा १४ सय ३७ वटा दर्ता मध्ये अहिले ११ सय ८५ वटा म्यानपावर मात्रै सञ्चालनमा छन् ।

विभागमा दर्ता भएका १४ सय ३७ मध्ये ५५ वटा म्यानपावर सञ्चालनमा नरहेको विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका म्यानपावरमध्ये एक वर्षमा एक सय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर पनि खारेज हुने प्रावधान छ । वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षा र म्यानपावरको संख्या घटाउन सरकारले यस्तो प्रावधान ल्याएको हो । विभागमा रहेको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७४÷७५ मा ५ सय १२ वटा म्यानपावरले एक सय जना कामदार पठाउन सकेनन् ।

एक वर्षमा १० जना पनि कामदार पठाउन नसक्ने म्यानपावरको सङ्ख्या ६७ छ । जसमध्ये ८ वटा म्यानपावरले एक जना मात्रै कामदार पठाएको विभागको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरि २ जना मात्र वैदेशिक रोजगारीमा पठाउने ७ वटा, ३ देखि १० जना मात्र कामदार पठाउनेमा ६० वटा , ११ देखि ५० जना पठाउने १ सय ८२ वटा र २ हजारभन्दा बढी कामदार पठाउने म्यानपावरको संख्या १५ वटा रहेको छ  ।


प्रतिक्रिया दिनुहोस्