सरकारी जासुसी संयन्त्र सिथिल हुँदा विप्लव समूह सक्रिय

काठमाडौ‌ फागुन १४,सरकारलाई आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना उपलब्ध गराउने जासुसी संयन्त्र कमजोर देखिएका छन्।
आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट परिचालित हुने जासुसी संयन्त्र कमजोर देखिएका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न सेनाको मेजर जनरलको नेतृत्वमा सैनिक विनय महानिर्देशनालय ९डिजिएमआई०, नेपाल प्रहरीको विशेष ब्युरो, सशस्त्र प्रहरीको विशेष संयन्त्र र राष्ट्रिय अनुसन्धान विभागको संयन्त्र परिचालन हुन्छन्।

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह, सिके राउत र अन्य सशस्त्र भूमिगत समूहले देशभित्र गर्ने गतिविधिका बारेमा समयमै सूचना संकलन हुन नसकेको देखिएको छ।

पछिल्लो समयमा विप्लव समूहका गतिविधि बढेका छन्। सो समूहले देशभर आतंक फैलाउनेमात्रै नभई ज्यानै जानेगरी बम विस्फोटसमेत गराएको छ।

सो समूहका कारण शुक्रबार साँझ एक व्यक्तिको ज्यान गएको छ भने मुलुकका विभिन्न भागमा रहेका एनसेल टावर ध्वस्त भएका छन्। काठमाडौंलगायतका विभिन्न भागमा सो समूहले आतंक फैलाउन सक्ने जानकारी प्रहरीको कुनै एक युनिटले पाएको भए पनि त्यसलाई विशेष ब्युरोले ध्यान दिएन। यो विषयमा प्रहरी प्रधान कार्यालयले कुनै प्रतिक्रिया जनाएको छैन।

आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना गृह मन्त्रालय र मातहतका सुरक्षा निकायलाई प्रवाह गर्नुपर्ने अनुसन्धान विभागले प्रधानमन्त्री कार्यालयमा एक सहसचिवलाई रिपोर्टिङ गरेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ।

सशस्त्र प्रहरीको विषेष संयन्त्र अवैध हातहतियार, लागुऔषध, बन्यजन्तुका अंग बरामद गर्नमै व्यस्त छ। सूचनामा निकै भरपर्दो मानिएको नेपाली सेनाको डिजिएमआईले मुलुकमा राजनीतिक स्थायित्व कायम भएको भन्दै आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलनमा खासै ध्यान नदिएको सैनिक स्रोतले बतायो। ‘राजनीतिक मुद्दा भएकाले त्यसलाई हामीले ध्यानै दिएनौं’, सैनिक स्रोतले भन्यो।

आन्तरिक सुरक्षाका लागि सूचना संकलन, विश्लेषण र प्रवाह गर्ने दायित्व भएको राष्ट्रिय अनुसन्धान विभाग यति बेला प्रधानमन्त्री कार्यालय मातहतमा रहेको छ।

आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना गृह मन्त्रालय र मातहतका सुरक्षा निकायलाई प्रवाह गर्नुपर्ने निकायले प्रधानमन्त्री कार्यालयमा एक सहसचिवलाई रिपोर्टिङ गरेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ।

पूर्वगृहसचिवसमेत रहेका सुरक्षा विश्लेषक श्रीकान्त रेग्मी नेपालको सूचना संयन्त्र निकै कमजोर भएको बताउँछन्। ‘सूचना आदानप्रदानमा सुरक्षा निकायहरुबीच समन्वयको अभाव देखिन्छ। आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको गृह मन्त्रालय नै भरपर्दो सूचनाबाट वञ्चित भएको अवस्था छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस्