मेस्सीको गोलले बार्सिलोना हारबाट जोगियो

काठमाडौं ,१८ चैत / स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट मुस्किलले जोगिएको छ । अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल फर्काएपछि लिग लिडर बार्सिलाना सेभिल्लासँग हारबाट जोगिएको हो । २-० ले पछि परेको अवस्थामा ८८ र ८९ औं मिनेटमा लुइस स्वारेज र लियोनल मेस्सीले एक-एक गोल फर्काएका थिए ।

सेभिल्लाले ३६ औं मिनेटमा भाज्क्वेजको गोलबाट सुरुवाती अग्रता लिएको थियो । त्यसको १४ मिनेटपछि मुरिएलले अर्को गोल गरेपछि सेभिल्लाले २-० को अग्रता लियो ।  त्यसपछि दबावमा परेको बार्सिलोनाका लागि ८८ औं मिनेटमा स्वारेजले एक गोल गरे । त्यसको एक मिनेटपछि स्टार स्ट्राइकर लियोनल मेस्सीले अर्को एक गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । चोटका कारण अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेल नखेलेका मेस्सी शनिबार राति सेभिल्लाविरुद्ध भने थप खेलाडीको रुपमा मैदान छिरेका थिए ।

बार्सिलोनाले यो सिजनको ला लिगामा हार व्यहोरेको छैन । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ । दोस्रो स्थानमा रहेको एथलेटिको मडि्रडको ६४ र तेस्रो स्थानमा रहेको रियल मडि्रडको ६३ अंक छ ।


प्रतिक्रिया दिनुहोस्