सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २०औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वाम सरकारले अधिनायकवाद ल्याउँछ र प्रेस स्वतन्त्रता हनन गर्छ भन्नु हल्लामात्रै हो भन्नुभयो । “वाम सरकारले सञ्चारमाध्यमलाई अनुचित थिचोमिचो गर्छ भन्ने हल्लामात्रै हो, त्यसको पछि नलाग्न म आग्रह गर्छु, सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति लक्षित गर्दै जनतालाई बम, बारुद र चन्दा आतङ्क मच्चाएर जनतालाई दुःख नदिनसमेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले जनतामा राजनीतिकमात्र नभई सामाजिक र आर्थिक जागरण आवश्यक रहेको भन्दै त्यसका लागि अब सबैको व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, जनतामा विकास निर्माणका योजना सञ्चालन गर्ने, आधुनिक प्रविधिको अवलम्बन गर्ने योजनामा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “म छिट्टै भारत भ्रमणमा जाँदैछु, भ्रमणबाट नेपाल र भारतको सम्बन्ध अझै प्रगाढ र सुमधुर हुनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । कार्यक्रममा रिपोर्टर्स क्लबले प्रधानमन्त्री ओलीलाई अभिनन्दन पनि गरेको थियो । नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान जारी भइसकेको सन्दर्भमा पार्टी एकतासँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फाइल तस्विर

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सबै नेपाली एकजुट भएर शान्ति, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नयाँ सरकार गठनका लागि जनताले साथ दिएको भन्दै अध्यक्ष प्रचण्डले अब जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकलाई अब आर्थिक समृद्धिको दिशामा अघि बढाउने गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारत सधैँभरि नेपालको विकास र समृद्धिको पक्षमा रहेको बताउनुभयो ।

पत्रकारहरु पुरस्कृत

रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर पब्लिकेशनद्वारा प्रकाशित ‘साप्ताहिक’ का प्रधानसम्पादक सुवास ढकाललाई प्रदान गरेको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ । उहाँ लगायत अन्य पत्रकारलाई प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरस्कार प्रदान गर्नुभयो । यसैगरी, यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ दृष्टि साप्ताहिकका प्रकाशक एवं संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ । ‘वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं नेपाल टेलिभिजनका संवाददाता दिलीप थापा मगरलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । यसैगरी, ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ द हिमालयन टाइम्सका विशेष संवाददाता रेवती सापकोटालाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २० हजार छ ।

रिपोर्टर्स क्लब नेपालले ‘सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ संवाददाता नरेन्द्र साउदलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २० हजार रहेको छ । यसैगरी यस वर्षको ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका फोटो पत्रकार विजय राईलाई प्रदान गरिने निर्णय गरिएको छ । राजनीतिक संक्रमणकाल, भूकम्पलगायतका कठिन घडीमा साहसपूर्वक फोटो पत्रकारिता गरी ख्याति कमाएका पत्रकार राईलाई दिइने यो पुरस्कारको राशि रु २० हजार छ । ‘उमा सिंह स्मृति पत्रकारिता पुरस्कार’ देशसञ्चार डटकमकी संवाददाता ९संयोजक० दीपा दाहाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार छ । ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिकका समचारदाता भउचप्रसाद यादवलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु १० हजारको छ ।

राससकर्मी दर्नाल पुरस्कृत

त्यसैगरी, यो वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति ९रासस०का समाचारदाता सुशील दर्नाललाई प्रदान गरिएको छ ।रु पाँच हजार राशिको सो पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदान गर्नुभयो । दर्नाल विगत आठ वर्षदेखि राससमा कार्यरत हुनुहुन्छ ।
रासस


प्रतिक्रिया दिनुहोस्