एक महिना भित्रै सबै वडासम्म कर्मचारी पुग्छन्

काठमाण्डौ, १७ चैत्र / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक महिनाभित्र स्थानीय तहका सबै वडासम्म कर्मचारी पुर्‍याउने प्रतिवद्धता जनाएका छन् । प्रदेशदेखि स्थानीय तहसम्म कर्मचारी नपुगको गुनासो आइरहेका बेला मन्त्री पण्डितले एक महिना भित्र कुना कन्दराका वडासम्म कर्मचारी पुर्‍याउने प्रतिवद्धता जनाएका हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको राष्ट्रिय महाधिवेशन आएका स्थानीय तहका जनप्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री पण्डितले भने, ‘एक महिनाभित्र कुनै पनि कुना कन्दराका वडासम्म राष्ट्र सेवक मैले जसरी पनि पुर्‍याउँछु, काम गर्ने वातावरण बनाउने जिम्मा तपाईँ जनप्रतिनिधिको । उनले मुलुकमा राजनीतिक संक्रमण सकिए पनि प्रशासनिक संक्रमणको अवस्था रहेको बताउँदै संरचना अनुसार कर्मचारी खटाउँदै जाने आश्वासन दिए ।

लालबाबुले सेवा करारमार्फत समेत स्थानीय तहलाई कर्मचारी राख्न पाउने व्यवस्था गर्न लागिएको जानकारी दिए । जनप्रतिनिधिको सेवा सुविधा एकरुपता समेत हुन नसक्ने उनले बताए । खटाएको ठाँउ नजाने कर्मचारीलाई राजीनामा दिएर जाने बाटो खुला रहेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्