खेलाडीलाई प्रतियोगिताको खाँचो छ: विनोद दास


0
Shares
                                                                                    तस्विर: सिद्धराज भट्ट

भीमदत्तनगर, १६ चैत । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले खेलाडीलाई क्रिकेट प्रतियोगिताको खाँचो रहेको बताउनुभएको छ । महेन्द्रनगर युनाइटेडले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व कप्तान दासले प्रतियोगिताबिना क्रिकेट अगाडि बढ्न नसक्ने बताउनुभयो । “अब नेपाली क्रिकेटको स्तर बढाउन घरेलु प्रतियोगिताको खाँचो छ”, महेन्द्रनगर युनाइटेड टोलीको समेत प्रशिक्षक रहनुभएका दासले भन्नुभयो, “क्रिकेटमा चुनौती धेरै छन्, तिनको सामना गरेर अगाडि बढ्नुको विकल्प छैन ।”

कैलालीको धनगढीमा शनिबारदेखि सञ्चालन हुने धनगढी प्रिमियर लिग (डिपिएल)मा आफ्नो टोलीलाई सहभागी गराउनुअघि प्रशिक्षक दासले नेपालमा निजी क्षेत्रको लगानीमा क्रिकेट प्रतियोगिता आयोजना हुनु सुखद पक्ष भएको बताउनुभयो । उहाँले डिपिएलजस्तै अन्य प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । क्रिकेटमा नेपालले हालै एकदिवसीय मान्यता प्राप्त गरेकाले आगामी दिनमा खेलाडीलाई बढीभन्दा बढी प्रतियोगिता आयोजना गरेर आफ्नो क्षमता प्रदर्शनको मौका दिनुपर्ने प्रशिक्षक दासको भनाइ थियो । “अब घरेलु प्रतियोगिता आयोजना गरेर खेलाडी उत्पादनतर्फ लाग्नुुपर्छ, क्रिकेटमा सरकारी र निजी क्षेत्रले लगानी बढाउनुपर्छ”, उहाँले भन्नभयो । धनगढी प्रिमियर लिग (डिपिएल)का लागि महेन्द्रनगर युनाइटेडले दुईजना भारतीय खेलाडीसमेत अनुबन्ध गरेको छ ।

महेन्द्रनगर युनाइटेडले भारतीय खेलाडी पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो । विष्टले दिल्ली डेयरडेभिल्सबाट इण्डियन प्रिमियर लिग (आइपीएल) खेलिसकेका छन् भने मेहराले दिल्लीबाटै रणजी ट्रफी खेलिसकेका छन् । महेन्द्रनगर युनाइटेड टोलीको कप्तानमा विनोद भण्डारी तथा अन्य खेलाडीमा करण केसी, अविनाश कर्ण, भुवन कार्की, रोहितकुमार पौडेल, आरिफ शेख, आसिफ शेख, नारायण जोशी, अरुण ऐरी, दीपेन्द्र चन्द, प्रणित थापामगर, हरिशंकर साह र रवीन क्षेत्री रहेको महेन्द्रनगर युनाइटेडका सञ्चालक दिनेश मल्लले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्