यू–१९ एसिया कपः भारतसँग नेपालको फराकिलो हार प्रकाशित मिति : 29 September, 2018 5:25 pm ढाका / एसीसी यू–१९ एसीसी एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले भारतसँग फराकिलो हार बेहोरेको छ । नेपालले भारतसँग १ सय ७१ रनका फराकिलो हार बेहोरेको हो । भारतले दिएको ३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ३६ ओभर ४ बलमा सबै विकेट गुमाएर १सय ३३ रनमा समेटियो । नेपालका लागि कप्तान मोहम्मद आसिफ शेखले सर्वाधिक २५ रन बनाए । रोहित कुमार पौडेलले २४ तथा सन्दीप जोराले २० रन जोडे । रविन्दै जंगले १६ तथा रविकुमार साहले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेन । भारतका सिदमर्थ देशाई र हर्स त्यागीले समान ३ विकेट लिए । मोहित जंग्राले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको थियो । भारतलाई विशाल योगफल तयार पार्न ओपनर यशस्भी जैसवाल शतक र मिडिल अडरका प्रभा सिमरन सिंहले उत्कृष्ट आक्रमक अर्ध शतक प्रहार गरे । ओपनिङ ब्याटिङ गर्न मैदानमा उत्रेका देभदत्त पडिक्कल र जैसवालले पहिलो विकेटका लागि १७ औँ ओभर सम्म ८३ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात दिलाए । १७ औँ ओभरको अन्तिम बलमा भिम सार्कीले यी दुई जोडीको पाट्नरशिप ब्रेक गरिदिएका थिए । भिमले आफ्नो स्पेलको पहिलो ओभरमै पडिक्कललाई ४३ बलमा ३ चौका प्रहार गरेर खेली रहेको अवस्थामा एलपी डब्लुको धरापमा पार्दै ३० रनमा पेभिलिएनको बाटो देखाए । दोस्रो विकेटका रुपमा कप्तान पवन शाहलाई २२ ओभर १ बलमा भिमको हातबाट क्याच आउट गराउदै सन्दीप जोराले १३ रनमा आउट गरे । तेस्रो विकटका रुपमा ३५ औँ ओभरमा आउट हुनु अघि जैसवालले ११३ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै १०४ रन बनाए । जैसवाललाई रसिद खानले ३४ ओभर ५ बलमा भिम सार्कीको हातबाट क्याच आउट गराउदै पेभिलिएन फर्काइ दिए । त्यस्तै पाँचौ विकेटका रुपमा भिम सार्कीले ४३ औँ ओभरमा पवन सराफको हातबाट क्याच आउट गर्दै आक्रमक ब्याटिङ गरि रहेका सिंहलाई ८२ रनमा आउट गरे । तर नेपालका लागि सिंहको विकेट लिन धेरै ढिला भई सकेको थियो । सिंह आउट हुँदा भारत ४३ ओभरमा २ सय ६३ को बलियो स्थितीमा पुगेको थियो । सिंहले ६१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ८२ रन बनाएका थिए । सिंह आउट भएसँग भारतको विकेट पनि नियमीत गुमेको थियो । त्यस्तै भारतका लागि आयुष बडोनी ३३, मोहित जन्ग्रा १९ र अजय गंगापुरमले १० रन बनाए । नेपालका लागि भिम सार्कीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै रसिद खान २, सागर ढकाल,कमल सिंह ऐरी,सन्दीप जोराले समान एक विकेट लिए । -एजेन्सी