अपराजित बायर्नको यात्रामा पूर्णविराम प्रकाशित मिति : 29 September, 2018 8:33 am हर्था बर्लिनको घरेलु मैदानमा भएको खेलमा म्युनिखलाई बुन्डेस लिगाको पहिलो हार चखाउन भेडाड इविसेभिक र अन्ड्रेज डुडाले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । २३औं मिनेटमा घरेलु टोली बर्लिनले पेनाल्टी गोल मार्फत खेलमा अग्रता बनाउन सफल भएको थियो । डुडाको प्रहार गोलरक्षक निउरले रोकेपनि बोटिङले जोगाउन खोज्दा डि–बक्सभित्र ह्यान्ड गर्न पुगेपछि बर्लिनले पेनाल्टीको मौका पाएको थियो । जसमा इविसेविक चुकेनन् । ४४औं मिनेटमा लाजारोको पासमा डुडाले गोल गरेपछि बर्लिनले खेलमा २–० को अग्रता बनाउन सफल भएको थियो । डुडाको बुन्डेस लिगमा यो पाँचौ गोल हो । दोस्रो हाफमा म्युनिखसँग दवावमा खेलेपनि बर्लिनले आफ्नो अग्रता जोगाईराख्न सफल भयो । यता, म्युनिखले खेलभर घरेलु टोलीलाई दवावमा राखेपनि बर्लिनको बलियो रक्षापङ्ति तोड्न नसक्दा सिजनको पहिलो हार बेहोर्न बाध्य बन्यो । हारपछि पनि म्युनिख ६ खेलबाट १३ अंक जोडेर लिगको शीर्षस्थानमा यथावत् छ । समान १३ अंक भएपनि बर्लिन गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको डर्टमन्डको ११ अंक छ । उसले एक खेल कम खेलेको छ । -हाम्रो खेलकुद