नेपालकै अग्लो झोलुङ्गे पुल मनाङमा प्रकाशित मिति : 5 September, 2018 12:26 pm मनाङ, २० भदौ मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोला निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ । केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभास पाण्डेयलगायतका टोलीले नाप जाँच गरेपछि पुलको वास्तविक उचाइ पत्ता लागेको हो । चार वर्षअघि नै पुल निर्माण गरिए पनि यसको वास्तविक उचाइ सार्वजनिक भएको थिएन। विसं २०७२ मा निर्माण भएको यस पुल विश्वकै पाँचौं नम्बरमा पर्छ । हालसम्म विश्वको तथ्याङ्क हेर्दा सबैभन्दा अग्लो पुल चीनमा छ । चीनको डुङ्ग्रे ब्रिज ५६५ मिटर अग्लो छ ।त्यस्तै, चीनकै सिदु पुल ४९६, पुल्ली पुल ४८५, एचीपुल ४३४ मिटर अग्लो छ । चीनका ती चारवटा पुलपछि ड्रोनाखोलामा निर्माण भएको पुल नै अग्लो भएको दाबी स्थानीयवासीको छ । हालसम्म नेपालको अग्लो झोलुङ्गे पुल भनेर चिनिएको पर्वत कुश्माको पुलको उचाइ जम्मा १६६ मिटर छ । ‘हामीले प्राविधिक हिसाबले नै नापजाँच गरेका हौँ । पुलको वास्तविक उचाइ ४१२ मिटर छ, इञ्जिनीयर पाण्डेयले भन्नुभयो, “अब यसको प्रचार देशभरि गर्नुपर्छ । यसले पनि मनाङको पर्यटन बढाउन सहयोग गर्छ ।” ‘‘हामीलाई हाम्रो सम्पत्ति नै थाहा भएन । नत्र पहिले नै प्रचार गरिसक्थ्यौं,’’ नाशोङ गाउँपालिका–२ का वडाध्यक्ष भीमबहादुर गुरुङले भन्नुभयो, “विकट जिल्ला र अशिक्षाका कारणले पनि पछि परिरहेका छौं ।” गाउँलेलाई हिँडडुल गर्न चार वर्षअघि यस पुल बनाइएको हो । मनास्लु पदमार्गमा पर्ने झोलुङ्गे पुल लार्के पास र भोटमा नुन लिन जाने पुरानो बाटो पनि हो । खोलामा पुल नहँुदा धेरै सास्ती ब्यहोरेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । पुललाई सम्पदाको रुपमा स्थापित गरिदिन आग्रह गर्दै उहाँले तिलिचो तालजस्तै यस पुललाई पनि विश्वमा चिनाउन सकिने भएकाले यसको प्रचारप्रसार गरिदिन सरकारसँग आग्रह गर्नुभयो । रासस – नवीन लामिछाने