रेड स्टारलाई पाथीभरा गोल्डकप उपाधि


0
Shares

अरुण पोस्ट संबाददाता

ताप्लेजुङ, १६ भदौ / ताप्लेजुङमा सम्पन्न तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रेड स्टार क्लब बिर्तामोड झापाले जितेको छ । शनिबार भएको फाइनल खेलमा झापाकै न्यु स्टार क्बललाई २–१ गोलअन्तरले पराजित गर्दै रेड स्टारले उपाधि जितेको हो ।

                     उपाधि विजेता रेड स्टार बिर्तामोड झापाका खेलाडी ।

जिल्लास्थित लाखेजात्रा सञ्चालन समितिको आयोजनामा खेलाइएको प्रतियोगिताको उपाधिका लागि रेड स्टारका ग्लोरीले खेलको २२ औं मिनेटमा पहिलो गोल गर्नुभएको थियो । त्यसपछि ७२ औं मिनेटमा न्यु स्टारका विजय राईले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । निर्धारित ९० मिनेटको समयभित्र दुवै टिमको एक÷एक गोल बराबर भएपछि थपिएको १५ मिनेटको अतिरिक्त समय रेड स्टारका लागि लाभदायी बन्यो ।

थप गरिएको अतिरिक्त समय सकिनलाई केही मिनेट मात्र बाँकी छँदा न्यु स्टार एकजना खेलाडी घाइते भई मैदान बाहिर भएको बखत रेड स्टारले पाएको कर्नर सुटमा सो टिमका कप्तान समेत रहनुभएका कर्ण लिम्बूले थप गोल गर्नभएको हो । रेड स्टारका कप्तान लिम्बूले गरेको थप एक गोल नै उपाधि चुम्नका लागि काफी बन्यो । गोल गर्ने अथक प्रयास रहेपनि असफल हुँदा न्यु स्टारले उपबिजेतामा सीमित हुनुप¥यो ।

यता उपाधि जितेसँगै रेड स्टारले तीन लाख एक हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपबिजेता बनेको न्यु स्टारले एक लाख ५१ हजार १११ रुपियाँ नगद पुरस्कारमा चित्त बुझाउनुप¥यो । शनिबारको खेलमा रेड स्टारका पदम लामा सर्वश्रेष्ठ खेलाडी र ग्लोरी उत्कृष्ट फरवार्ड घोषित हुनुभयो । यस्तै न्यु स्टारका दीपेश दर्जी र सञ्जोग राई क्रमशः उत्कृष्ट डिफेन्डर र मिडफिल्डर घोषित हुनुभयो । उहाँहरुलाई पनि नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिएको आयोजक लाखेजात्रा सञ्चालन समिति अध्यक्ष मोतिकुमार पतङ्वाले जानकारी दिनुभयो ।

गत साताको शुक्रबारदेखि सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालित पाथीभरा गोल्डकप तेस्रो संस्करणअन्तर्गत प्रतियोगितामा स्थानीय दुईसहित १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता टिम तथा परस्कृत खेलाडीलाई प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईले पुरस्कार वितरण गर्नुभएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्