नेपाललाई सान्त्वना,यमनको सम्भावना प्रकाशित मिति : 27 March, 2018 3:19 pm १३ चैत, काठमाडौं / महादेशीय फुटबल प्रतियोगिता एसियन कप छनोटको अन्तिम खेलमा आज नेपाल ओमनसँग खेल्दैछ । यमनका लागि छनोटमा निर्णायक हुने खेल नेपालका लागि सान्त्वना जितका लागि हुनेछ ।खेल कतारको दोहामा रहेको सुहेम बिन अमिद रंगशालामा नेपाली समय अनुसार राति ९ बजेपछि हुनेछ । कतार जानुअघि तीन दिन मात्र अभ्यास गरेको नेपाली टोलीले प्रस्तिपर्धाको अन्तिम तयारीमा सोमबार बेलुका कतारमा नै अभ्यास गर्यो । छनोट प्रतियोगितामा सोलिडारिटी कप विजेताको हैसियतमा सहभागी भएको नेपालले अहिलेसम्म खेलेका पाँच खेल मध्ये दुई बराबरी र तीन खेल हारेको छ । यमन एकमा जित र चारमा बराबरी गरेर सात अंकसहित समूहको दोस्रो स्थानमा छ । समान ७ अंक जोडेको ताजिकिस्तान गोलका आधारमा तेस्रो स्थानमा छ । ९ अंक जोडेको फिलिपिन्स शीर्ष स्थानमा छ । यसैले यमनका लागि नेपालसँगको खेल जितेर इतिहास बनाउने मौका छ । नेपालका लागि प्रतियोगितामा जितिविहीन हुनबाट जोगिने अवसर । विगत यस्तो छ। नेपालले एसियन कप २०१९ को छनोटमा गएको वर्ष घरेलु मैदान हल्चोकमा भएको खेलमा यमनसँग गोल रहित बराबरी खेलेको थियो । यहि खेलबाट नेपालले प्रतियोगितामा पहिलो अंक जोडेको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पनि नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी गरेर दोस्रो अंक जोड्यो ।बाँकी तीन खेल हारेपछि नेपालको छनोट सम्भावना सकियो । यसअघि सन् २००० मा भएको एसियन कपको छनोटमा नेपाल यमनसँग ३-० ले हारेको थियो । यस्तै चार वर्षअघि दोहामै भएको मैत्रीपूर्ण खेलमा नेपाल २-० ले हारेको थियो ।यमनमा सुरक्षाको खतरा रहेको भन्दै घरेलु मैदानमा हुनुपर्ने खेल कतारमा नै भएको हो । फिलिपिन्स र ताजकिस्तानको खेलको नतिजा सुखद रहेमा र नेपालसँगको खेल आˆनो पक्षमा पारे यमनले इतिहास बनाउने छ । एसियन कप, २०१९ का लागि छनोट हुन सके राष्ट्रिय एकतापछि यमनको पहिलो ठूलो प्रतियोगिता हुने छ । कसले के भने ? खेलअघि दोहामा भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक ग्योतुकु कोजीले खेल सहज नभए पनि आफूहरू सक्दो गर्ने बताएका छन् । ‘हाम्रा खेलाडी घरेलु विभिन्न लिगमा व्यस्त रहे । यसले गर्दा राम्रोसँग तयारी गर्न पाएनौँ । यसैले धेरै आशा छैन’ उनले भने, ‘तर, सतप्रतिशत प्रयास गर्छौं ।’उनले यमनलाई जस्तो छनोटका लागि दबाव नभएकाले स्वतन्त्र भएर खेलमा ध्यान दिने पनि बताए । शारीरिक र प्राविधिक रुपमा पनि बलियो टोली भएकाले यमनविरुद्ध सहज नहुने उनको भनाइ थियो ।कप्तान विराज महर्जनले यमनसँग खेल साफ च्याम्पियनसिप जस्तै महत्वपूर्ण भएको बताएका छन् । उनले टोली एकजुट भएर तीन दिन मात्रै अभ्यास गरे पनि नियमित जस्तो घरेलु प्रतियोगिता खेलेकाले राम्रो प्रदर्शन गर्ने आश रहेको बताए । ‘एसियन कपका लागि छनौट हुने सम्भावना सकियो । तर पनि हामीले यमनसँगको खेललाई महत्वका साथ लिएका छौँ ।’ नेपाली टोली अन्तिम पटक सन् २०१६ को नोभेम्बरमा सोलिडारिटी कप फुटबलमा मकाउलाई १-० ले हराएपछि जितविहीन छ । नेपालका लागि झण्डै डेढ वर्षदेखि रहेको जितको अभाव टार्ने मौकाको रुपमा यमनसँगको खेल रहेको छ । फिफाको वरियतामा नेपालभन्दा यमन २५ स्थान माथि छ । यमन १ सय ४० औँ स्थानमा छ भने नेपाल १ सय ६५ औँ स्थानमा रहेको छ ।