दुई वर्ष पछि सर्यो जापानी राजकुमारीको विहे
सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ वर्षीया माको र कुमुरोको यही मार्चमा परम्परागत ढंगले इन्गेजमेन्ट गर्ने र नोभेम्बर ४ मा विवाह गर्ने तयारी रहेको थियो । उक्त जोडीले आफ्नो विवाह सार्ने निर्णबारे यसअघि नै जापानी सम्राट र राजपरिवारका अन्य सदस्यहरूलाई जानकारी गराइसकेको जनाइएको छ ।
उमेर र स्वास्थ्यको कारण देखाउँदै आगामी वर्ष जापानी सम्राट अकिहितोले गद्दी छोड्ने निर्णय गरेको र सो कार्यक्रममा परिवारिक व्यस्तताका कारण विवाहलाई दुई वर्ष पछि सारिएको जिजीले उल्लेख गरेको छ ।
‘हामी दुवै जनाको विवाहका लागि प्रशस्त तयारी नपुगेकाले अर्को मितिमा गर्ने गरी हाललाई वैवाहिक कार्यक्रम स्थगित गरिएको छ,’ राजकुमारी माकोद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी जापानी सञ्चारमाध्यम जिजीले लेखेको छ ।
राजकुमारी माकोले विज्ञप्तिमा भनेकी छिन्, ‘हाम्रो विवाहको तयारीमा जुट्ने सबैसँग विवाह सार्दा परेको समस्याप्रति क्षमाप्रार्थी छु,’ माकोका हुनेवाला श्रीमान् कुमुरो एउटा सामान्य परिवारका व्यक्ति हुन् । पर्यटन क्षेत्रमा संलग्न कुमुरोसँग विवाह भएपछि माकोको राजकुमारीको हैसियत अन्त्य हुनेछ । माको र कुमुरो केही वर्षअघिदेखि गहिरो प्रेममा छन् ।