रियल मड्रिडसँग युभेन्टस पराजित प्रकाशित मिति : 5 August, 2018 8:56 am मेरिल्यान्ड एजेन्सी – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । रियलले इटालियन क्लब युभेन्टसमाथि ३–१ को सहज जित निकालेको हो । च्याम्पियन कपमा रियलको यो पहिलो जित हो । यसअघि रियल आफ्नो पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको थियो । रियलको सहज जितमा मार्को एसेन्सियोले दुई तथा ग्यारेथ बेलले एक गोल गरे । युभेन्टस्ले आत्मघाती गोल उपहार पाएको थियो । अमेरिकाको मेरिल्यान्डस्थित फेडेक्सफिल्ड ल्यानोभरमा आइतबार बिहान भएको खेलमा युभेन्टस्ले खेलको १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो । रियलका डिफेन्डर ड्यानियल कार्भाजोलले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल हुन पुगेको थियो । शुरुवातमै १–० ले पछि परेपछि रियलले सम्हालिएको प्रदर्शन गर्दै ३९ औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । ग्यारेथ बेलले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा मार्को एसेन्सियो नायक बने । दोस्रो हाफको शुरुमै इस्कोको स्थानमा मैदान छिरेका एसेन्सियोले ४७ औं र ५६ औं मिनेटमा गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए । यसै सिजन रियलबाट १ सय मिलियन पाउन्डमा युभेन्टस् पुगेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो उक्त खेलमा सहभागी थिएनन् ।