ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयको उदघाटन गर्दै, ढिलासुस्ती गर्ने ठेकेदारलाई छोडिन्न् – रामबहादुर थापा प्रकाशित मिति : 2 June, 2018 2:56 pm अरुण पोष्ट समाचारदाता ताप्लेजुङ, १९ जेठ / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बेइमान गर्ने जोकोहीलाई कडा कारबाही हुने बताउनुभयो । अहिले देश विकास र समृद्धितर्फ अघि बढिरहेका बेला यसमा साथ दिनुको सट्टा घात गर्ने वा बेइमानी गर्नेलाई सरकारले कडा कारबाही गर्ने मन्त्री थापाले बताउनुभयो । शनिबार ताप्लेजुङको भ्रमणमा आउनुभएका गृहमन्त्री थापाले जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै थापाले देशको विकास गर्ने जिम्मेवारी युवा, मजदुर, निर्माण व्यवसायीको भएको बताउनुभयो । अहिलेको सरकारको प्राथमिकता आर्थिक विकास र समृद्धि भएकाले यो अभियानमा सबै पक्षले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । अब देशको समृद्धि र आर्थिक विकासमा बाधा पु¥याउने कसैले पनि छुट नपाउने उहाँले बताउनुभयो । उहाँका अनुसार विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडाइका साथ कारबाही गर्नेतर्फ सरकार केन्द्रित भएको छ । मुलुकको कुनै पनि भौतिक संरचनाको निर्माणमा संलग्न रहेर काम पूरा नगर्ने, बिचैमा छाडेर भाग्ने ठेकेदार वा निर्माण कम्पनीलाई कारबाही हुने बताउनुभयो । कुनैपनि कामको जिम्मेवारी लिएर समयमै पूरा नगर्ने, घात गर्ने, बेइमान/भष्ट्राचार गर्नेको सूची समेत तयार हुँदै गरेको मन्त्री थापाले उल्लेख गर्नुभयो । भष्ट्राचार, बदमास, ठगी, कालोबजारी, गुन्डागर्दी, बेइमान गर्नेलाई कारबाही नगरेसम्म देशको विकास र समृद्धिमा सहज नहुने भन्दै त्यस्तालाई छानविन गरेर कारबाही गर्न गृहमन्त्रालय अग्रसर रहेको उहाँले बताउनुभयो । उहाँले समयमै आफ्नो जिम्मेवारी पूरा गर्ने र सही काम गर्नेलाई पुरस्कृत गर्नुपर्ने पनि आवश्यक रहेको बताउनुभयो । यता प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक निर्माण र झण्डै नौ वर्ष अघिदेखि निर्माण सुरु भएको दोभानस्थित तमोर नदीको पुल निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीय सञ्चारकर्मी लगायतले राखेका जिज्ञासामा सम्बन्धित मन्त्रालय वा विभागसँग बुझेर बिलम्ब गर्नेलाई गृहमन्त्रालयले कारबाही गर्नसक्ने उहाँले बताउनुभयो । यस्तै स्थानीय तहहरुमा सुरक्षाको अभावमा बैङ्कहरु स्थापना हुन सकेनन् भन्ने जिज्ञासामा उहाँले निकट भविश्यमा नै आवश्उक जनशक्ति उत्पादन गरी सुरक्षा व्यवस्था मिलाउने बताउनुभयो । उहाँले राज्य पुनर्संरचना पनि स्थानीय तह तथा मुलुकका विभिन्न सीमा क्षेत्रहरुमा सुरक्षा जनशक्तिको आवश्यकता बढेको र त्यो आवश्यकता हालको जनशक्तिले नधान्ने भएकाले त्यो परिपूर्ति गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको जानकारी दिनुभयो । गृहमन्त्री थापाले छ करोड १९ लाख रुपियाँ बढी बजेटबाट निर्माण भएको प्रशासन भवनको उद्घाटन गर्नुभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । शनिबार नै ताप्लेजुङको दोस्रो जिल्लासभाको पनि मन्त्री थापाले उद्घाटन गर्नुभएको छ । भवन तथा जिल्लासभाको उद्घाटन गर्ने औपचारिक कार्यक्रम सम्पन्न भएपछि जिल्लाको उत्तरी चीनसँगको सीमानाका ओलाङ्चुङगोलाको अवलोकन गर्ने कार्यक्रम भने प्रतिकुल मौसमका कारण हुन सकेन । यसैबीच गृहमन्त्री थापाको भ्रमण टोलीसँगै आउनुभएका प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङको सम्भावना र चुनौतीका विषयमा मन्त्रीको ध्यानाकर्षण गर्नुभएको थियो । नेता भट्टराईले उत्तरमा चीन र पूर्वमा भारतसँग सिमान जोडिएको जिल्ला भएकाले सीमा सुरक्षाबारे सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । ताप्लेजुङ प्राकृतिक रुपमा निक्कै धनी जिल्ला रहेपनि यहाँको प्राकृतिक सम्पदा तथा स्रोतहरुको उपयोग हुन नसकिरहेको उहाँले बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धन, जलस्रोतको उपयोग साथै अन्य प्राकृतिक सम्पदाको सदुपयोग गरे मुलुककै समृद्धिमा टेवा पुग्ने भएकाले यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबुलकार र भर्खरै सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममा समेटिएको तमोर जलासय निर्माण गर्न सरकारको प्राथमिकता हुनुपर्ने पनि उहाँले बताउनुभयो ।