गृहमन्त्री थापा शनिबार ताप्लेजुङ आउने प्रकाशित मिति : 1 June, 2018 7:24 pm -ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १८ जेठ / संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) शनिबार ताप्लेजुङ सहितका पहाडी जिल्लाको भ्रमणमा आउँदै हुनुहुन्छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ तथा संखुवासभाको नवनिर्मित भवनको उद्घाटन र सीमावर्ती क्षेत्रको निरीक्षण समेत गर्ने उद्देश्यले गृहमन्त्री थापा शनिबार बिहान ताप्लेजुङ आइपुग्नुहुने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । प्रजिअ जिसीका अनुसार गृहमन्त्री थापाले शनिबार बिहान ८ बजे जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रशासन कार्यालय भवनको उद्घाटन पछि थापाले जिल्ला समन्वय समितिको दोस्रो सभाको जिसस सभाहलमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । समन्वय समितिको सभा उद्घाटन सम्पन्न गरेपछि गृहमन्त्री थापा उत्तरी सीमावर्ती क्षेत्र ओलाङ्चुङगोलासम्म जाने कार्यक्रम रहेको बुझिएको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्लास्थित कार्यकर्ता भेटघाटको कार्यक्रम समेत रहेको बताइएको छ । नेकपाका जिल्ला नेता एवम् तत्कालीन माओवादी केन्द्रका जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले बिहान १० बजे कार्यकर्ता भेटघाटको कार्यक्रम तय भएको जानकारी दिनुभयो । ताप्लेजुङमा विभिन्न कार्यक्रम सम्पन्न भएपछि गृहमन्त्री थापा संखुवासभातर्फ जानुहुने कार्यक्रम रहेको बुझिएको छ । संखुवासभामा पनि जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवन उद्घाटनको कार्यक्रम रहेको छ ।