इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँसभा सम्पन्न, २१ वटा ऐन, नियमावली र कार्यविधिहरु पारित

हिरालाल गुरुङ
इच्छाकामना,२० बैशाख । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भएको गाउँसभाले २१ वटा ऐन, नियमावली र कार्यविधिहरु पारित गरेको छ ।

गाउँसभाका सम्पूर्ण सदस्यहरुको सहभागितामा ऐन, नियमावलि र कार्यविधि पारित गरिएको गाउँपालीकाकी प्रवक्ता सावित्रि गुरुङले बताउनुभयो ।
सभाले स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०७४, शिक्षा ऐन, कृषि व्यवसाय ऐन, एफ एम रेडियो व्यवस्थापन तथा संचालन कार्यविधि २०७४, पशासकिय कार्यविधि ऐन,उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, घ बर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धि कार्यविधि, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विद्यायक, आर्थिक कार्यविधि व्यवस्थित गर्न बनेको कानुन, सहकारी ऐन, बजार अनुगम निर्देशिका, कर्मचारी आचारसंहिता २०७४, भवन निर्माण प्रमाणिकरण कार्यविधि २०७४,घर बहाल कर नियमावली,प्राविधिक कर्मचारी व्यावस्थापन कार्यविधि सम्बन्धि २०७४, घर नक्सा कार्यविधि २०७४, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापपन गर्न बनेको विद्यायक २०७४, टोल विकास संचालन कार्यविधि र एकिकृत सम्पती कर ऐन रहेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

सभाले गाउँपालिकाले आज सम्म गरेका सम्पुर्ण निर्णयहरु अनुमोदन गर्नुका साथै बजेट रकमान्तर सम्बन्धमा विभिन्न निर्णयहरु गरेका छन् ।
गाउँसभाका सदस्यहरुकाबीचमा ब्यापक छलफल गरि ऐन, नियमावली र कार्यविधिहरु पारित गरिएको हो ।

यस अघि गाउँसभाको समुद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले गाउँपालिकाको सम्पुर्ण विकासको जिम्मा प्रमुख देखि वडा सदस्य सम्म सम्पूर्ण जनप्रतिनिधिहरुको नै रहेको बताउनुभयो ।अध्यक्ष गुरुङले भन्नुभयो “ केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार मध्ये अधिकार सम्पन्न स्थानिय सरकारका प्रमुख उप्रमुख वडा अध्यक्ष सदस्य सभासद हामी हौँ, त्यसैले गाउँपालिकाको विकासको सम्पुर्ण जिम्मा तपाइलाई छ हामीलाई छ, जनताले हामीलाई विश्वास गरेर यो ठाउँमा पु¥याएको हो ।” ऐन, नियमावली र कार्यविधिहरु पारित भएपछि काम गर्न सहज हुने अध्यक्ष गुरुङले बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष कृति कुमार श्रेष्ठले विद्ययक पारीत गरिसकेपछि पनि केही थपघट गर्न पर्ने विषयमा निर्णय गर्दै जाने कार्यपालिकामा सहमती भएको बताउनुभयो । वडा सदस्यहरु पनि आफुहरु जस्तै जनताको मत पाएको जनप्रतिनिधि भएकोले कार्यपालिकाको हरेक निर्णयहरु वडा सदस्यहरुलाई जानकारी गराउन वडा अध्यक्षहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा न ३ का अध्यक्ष गोवर्धन अधिकारी वडा न ५ का मोदराज सिलवाल, वडा न १ का नन्दलाल गिरि वडा सदस्य राम बहादुर घर्ती लगायतले बोलेका थिए । उनिहरुले एक बर्षमा सोचे जस्तो काम गर्न नसकिएको बताएका छन् । नयाँ अनुभव भएकाले काम गराईमा केही कमजोरी हुन सक्ने भन्दै उनिहरुले कमीकमजोरीलाई सच्याउदैँ आगामि दिनमा विकास र जनताको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका थिए ।

साथै सभामा प्रशासकीय अधिकृत नरहरिसापकोटाले हालसम्म संचालन भएका विकास निर्माण र खर्चको विवरण प्रश्तुत गर्नुभएको थियो । कार्यक्रम गाउँपालिकाका शिक्षा अधिकारी दिपक सिग्देलले संचालन गर्नुभएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्