योगदान, संघर्ष र सफलताको साझा उत्सव, ताप्लेजुङ नारी सम्मान–२०८३ 0 Shares इतिहासलाई सम्झिँदै, वर्तमानलाई सम्मान गर्दै र भावी पुस्तालाई प्रेरणा दिँदै ताप्लेजुङका नारी शक्तिलाई एउटै मञ्चमा उभ्याउने अभियान काठमाडौं । ताप्लेजुङका महिलाहरूको योगदान, संघर्ष, त्याग, नेतृत्व र सफलतालाई एउटै मञ्चमा सम्मान गर्दै उनीहरूको प्रेरणादायी जीवनयात्रालाई समाजसामु चिनाउने उद्देश्यले “हरितालिका तीज तथा ताप्लेजुङ नारी सम्मान–२०८३” आयोजना हुँदैछ। ताप्लेजुङ समाज–नेपाल र सह–आयोजक पाथीभरा दिदीबहिनी समूह, काठमाडौंको संयुक्त आयोजनामा २०८३ भदौ ६ गते बिहान ११ः३० बजे कार्की पार्टी प्यालेस, सुकेधारा, काठमाडौंमा कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रमको तयारीलाई आयोजकले तीव्र बनाएको छ। कार्यक्रममा पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। तर, प्रश्न उठ्छ—आखिर ताप्लेजुङ नारी सम्मान–२०८३ के हो ? यो केवल केही महिलालाई मञ्चमा बोलाएर सम्मानपत्र, माला र दोसल्ला प्रदान गर्ने कार्यक्रम मात्र होइन। यो ताप्लेजुङका महिलाहरूको जीवन, संघर्ष, समर्पण, सफलता र योगदानलाई खोज्ने, चिन्ने, अभिलेखीकरण गर्ने र भावी पुस्तासम्म पुर्याउने एउटा सामाजिक अभियान हो। घरको चौघेराभित्र बसेर परिवार र समाजका लागि जीवन समर्पित गरेका तर सार्वजनिक रूपमा कहिल्यै चर्चामा नआएका महिलादेखि शिक्षा, स्वास्थ्य, प्रशासन, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चारलगायतका क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका महिलासम्मलाई एउटै सम्मानको सूत्रमा जोड्ने प्रयास हो। यस अर्थमा ताप्लेजुङ नारी सम्मान–२०८३ हिजोको योगदानको स्मरण, आजको कर्मको सम्मान र भोलिको पुस्ताका लागि प्रेरणाको अभियान हो। सम्मानपत्र भन्दा ठूलो छ सम्मानको अर्थ समाज निर्माणमा महिलाको योगदान धेरै ठूलो छ। तर सबै योगदान इतिहासका पानामा लेखिँदैनन्। कसैले विद्यालयमा जीवन बिताएर हजारौँ विद्यार्थीको भविष्य बनाउँछिन्।कसैले बिरामीको उपचार गर्दै जीवन बचाउँछिन्।कसैले प्रशासनमा बसेर राष्ट्रसेवा गर्छिन्।कसैले राजनीति र जनप्रतिनिधित्वमार्फत जनताको आवाज बोक्छिन्।कसैले व्यवसाय गरेर आफूसँगै अरूलाई पनि रोजगारी दिन्छिन्।कसैले असहाय र दुःखीको सेवामा आफ्नो जीवन समर्पित गर्छिन्।कसैले गीत, संगीत, साहित्य र संस्कृतिमार्फत आफ्नो माटोको पहिचान जोगाउँछिन्।र कसैले सञ्चारमार्फत समाजलाई सूचना, चेतना र आवाज दिन्छिन्। यी सबै कर्मको सम्मान नै ताप्लेजुङ नारी सम्मान–२०८३ को मूल भावना हो। आयोजकले ताप्लेजुङका ६१ वटै वडाबाट सम्मानयोग्य महिलाहरूको पहिचान र नामावली संकलन गर्ने अभियान अघि बढाएको थियो। यसको उद्देश्य केही परिचित अनुहारमा मात्र सम्मान सीमित नगरी जिल्लाका विभिन्न भूगोल, समुदाय र क्षेत्रमा योगदान पुर्याएका महिलाहरूलाई खोजी र पहिचान गर्नु रहेको छ। यसले सम्मानलाई एउटा कार्यक्रमभन्दा माथि उठाएर ताप्लेजुङका महिलाहरूको योगदानको सामाजिक दस्तावेज बनाउने प्रयासका रूपमा स्थापित गर्न खोजेको छ। इतिहासको पानाबाट सम्मान : स्वर्गीय विष्णुमाया आङबुहाङ यस वर्षको सम्मानको सबैभन्दा भावुक र ऐतिहासिक पक्ष हो—विशिष्ट नारी सम्मान (मरणोपरान्त) यो सम्मान स्वर्गीय विष्णुमाया आङबुहाङलाई प्रदान गरिँदैछ। आजको पुस्ताका लागि सहज लाग्ने बाटो, पुल र आवतजावतका संरचनाहरूको पछाडि कुनै समय कसैको त्याग, दूरदृष्टि र परोपकार लुकेको हुन्छ। स्वर्गीय विष्णुमाया आङबुहाङको योगदान त्यस्तै एउटा ऐतिहासिक उदाहरण हो। वि.सं. २००९ सालमा तमोर नदीमाथि फलामे पुल निर्माणमा उहाँले पुर्याउनुभएको योगदानले ताप्लेजुङ, पाँचथर र तेह्रथुमका नागरिकको आवतजावतलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो। जनमानसमा “लिम्बुनी पुल” का रूपमा परिचित उक्त पुल दशकौँसम्म यस क्षेत्रको सामाजिक सम्बन्ध, आवतजावत र आर्थिक गतिविधिको महत्वपूर्ण आधार बनेको थियो। आज उहाँलाई सम्झनु भनेको एउटा व्यक्तिलाई मात्र सम्मान गर्नु होइन—ताप्लेजुङको सामाजिक इतिहासमा योगदान पुर्याउने एउटा पुस्ताको त्याग र सेवाप्रति कृतज्ञता व्यक्त गर्नु हो। त्यसैले स्वर्गीय विष्णुमाया आङबुहाङलाई प्रदान गरिने मरणोपरान्त सम्मान यो कार्यक्रमको सबैभन्दा भावुक अध्याय बनेको छ। शिक्षामा जीवन समर्पण गर्ने नारीहरू शिक्षा केवल अक्षर चिनाउने काम होइन, भविष्य निर्माण गर्ने जिम्मेवारी हो। शिक्षा क्षेत्रमा लामो समय समर्पित बिमला सुब्बालाई शिक्षा सम्मान प्रदान गरिँदैछ। आफूले अध्ययन गरेको विद्यालयमै करिब चार दशक सेवा गरी महिला प्रधानाध्यापकका रूपमा अवकाश लिनुभएकी सुब्बाको जीवनयात्रा शिक्षा सेवाप्रतिको समर्पणको प्रेरणादायी उदाहरण हो। त्यसैगरी प्रा. डा. कमला श्रेष्ठ दाहाल, गुरुआमा देवी श्रेष्ठ लगायत शिक्षा क्षेत्रमा योगदान पुर्याउने महिलाहरूलाई सम्मान गरिनेछ। एउटा शिक्षकले एउटा पुस्ता मात्र होइन, पुस्तौँको भविष्य निर्माण गर्छ। त्यसैले शिक्षकको सम्मान भनेको समाजको भविष्य निर्माण गर्ने कर्मको सम्मान हो। स्वास्थ्य सेवामा समर्पित नारी शक्ति मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवामा पनि ताप्लेजुङका महिलाहरूले उल्लेखनीय योगदान पुर्याएका छन्। डा.प्रगति गुरुङ लगायत स्वास्थ्य क्षेत्रमा सक्रिय गंगा गुरुङ, अम्बिका थापा, कल्याणी शिवा, कोपिला श्रेष्ठ पालिखे, बिन्दा घिमिरे लगायतका महिलाहरू सम्मानित हुँदैछन्। विशेषगरी आफ्नो भूगोल, समुदाय र सेवाप्रति जिम्मेवार हुँदै स्वास्थ्य क्षेत्रमा अघि बढेका महिलाहरूको यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्छ। राष्ट्रसेवामा महिलाको नेतृत्व ताप्लेजुङका महिलाहरूले राष्ट्रसेवामा समेत आफ्नो क्षमता र नेतृत्व प्रमाणित गरेका छन्। गीता देवी चेम्जोङ जिल्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारीका रूपमा सम्मानित हुँदैछिन्। साथै सुनिता श्रेष्ठ मादेन, रमा न्यौपाने, लक्ष्मी खतिवडा लगायत राष्ट्रसेवामा योगदान पुर्याउने महिलाहरूलाई पनि सम्मान गरिनेछ। यी सम्मानले महिलाहरू केवल सेवाग्राही मात्र होइनन्, राज्य सञ्चालन र नेतृत्व गर्ने सक्षम शक्ति पनि हुन् भन्ने सन्देश दिन्छ। राजनीति र जनप्रतिनिधित्व स् जनताको आवाज बोकेका नारीहरू ताप्लेजुङको राजनीतिक तथा सामाजिक परिवर्तनको यात्रामा महिलाहरूको भूमिका पनि महत्वपूर्ण रहँदै आएको छ। पूर्व सांसद सुशिला श्रेष्ठ लगायत राजनीतिक तथा जनप्रतिनिधित्वको क्षेत्रमा योगदान पुर्याएका महिलाहरूलाई सम्मान गरिँदैछ। जनप्रतिनिधित्व पद मात्र होइन, जनताको आवाज बोक्ने जिम्मेवारी हो। त्यसैले यस क्षेत्रमा योगदान पुर्याएका महिलाको सम्मान भनेको लोकतन्त्र र सामाजिक परिवर्तनमा महिलाको भूमिकाको सम्मान पनि हो। उद्यमशीलता : संघर्षबाट आत्मनिर्भरता सम्म आजको समाजमा महिला उद्यमशीलता आत्मनिर्भरता र आर्थिक सशक्तीकरणको महत्वपूर्ण आधार बन्दै गएको छ। कल्पना योङहाङ लिम्बु लगायत महिला उद्यमीहरूको सम्मानमार्फत संघर्ष, मेहनत, जोखिम र सिर्जनशीलताबाट सफलता हासिल गर्न सकिने प्रेरणादायी कथा सार्वजनिक गर्न खोजिएको छ। एउटी महिला उद्यमीको सफलता उनको व्यक्तिगत उपलब्धिमा मात्र सीमित हुँदैन। त्यसले परिवारलाई बलियो बनाउँछ, रोजगारी सिर्जना गर्छ र अरू महिलालाई पनि “आफ्नै खुट्टामा उभिन सकिन्छ” भन्ने आत्मविश्वास दिन्छ। समाजसेवा : अरूका लागि बाँच्ने कर्म समाजसेवा पद, प्रतिष्ठा वा आर्थिक लाभका लागि गरिने कर्म होइनस यो मानवताप्रतिको जिम्मेवारी हो। असहाय, अभिभावकविहीन बालबालिका, ज्येष्ठ नागरिक तथा समस्यामा परेका मानिसहरूको सेवामा समर्पित दीक्षा चापागाईं लगायत सामाजिक अभियन्ताहरूलाई सम्मान गरिँदैछ। यस्ता व्यक्तित्वको सम्मानले एउटा महत्वपूर्ण सन्देश दिन्छ , मानिसको जीवन कति लामो भयो भन्नेभन्दा उसले अरूका लागि कति उपयोगी जीवन बाँच्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ। कला, साहित्य र संस्कृतिमा ताप्लेजुङको पहिचान ताप्लेजुङ हिमाल, पहाड र प्राकृतिक सौन्दर्यको जिल्ला मात्र होइनस यो विविध भाषा, जातीय संस्कृति, लोकपरम्परा, संगीत र सिर्जनाको धनी भूमि पनि हो। कला, संस्कृति तथा लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउनुभएकी झुमा वनेम लिम्बु लगायत स्रष्टाहरूलाई सम्मान गरिँदैछ। त्यसैगरी सविता बराल लगायत साहित्य, संगीत, सिर्जना र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने महिलाहरू पनि सम्मानित हुनेछन्। यी सम्मानले एउटा महत्वपूर्ण प्रश्न पनि उठाउँछन्—हाम्रो मौलिक संस्कृति र पहिचानलाई भोलिको पुस्तासम्म कसले पुर्याउने ? उत्तर स्पष्ट छ—आज सिर्जना, संरक्षण र संवर्द्धनमा लागेका यिनै पुस्ताले। सञ्चारमा ताप्लेजुङका नारी आवाज सूचना र चेतनाको विस्तारमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ। नेपाल टेलिभिजनमार्फत लामो समयदेखि आफ्नो प्रस्तुति र मधुर आवाजका कारण दर्शकमाझ परिचित रिता गुरुङ लगायत सञ्चारकर्मी महिलाहरू सम्मानित हुँदैछन्। त्यसैगरी पत्रकारिता क्षेत्रमा सक्रिय माला पालुङ्वा लगायत महिलाहरूको योगदानलाई पनि कदर गरिनेछ। सञ्चारमा महिलाको उपस्थिति केवल पेशागत सहभागिता होइनस यो महिलाको आवाज, दृष्टिकोण र समाजका मुद्दालाई सार्वजनिक बहसमा ल्याउने महत्वपूर्ण माध्यम पनि हो। तीज : संस्कृति, आत्मीयता र एकताको अवसर कार्यक्रमलाई हरितालिका तीजसँग जोडिनुको पनि आफ्नै अर्थ छ। तीज नेपाली महिलाहरूको सांस्कृतिक तथा सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको पर्व हो। यस अवसरलाई ताप्लेजुङका महिलाहरूको भेटघाट, आत्मीयता, सांस्कृतिक प्रस्तुति र सम्मानसँग जोडेर कार्यक्रम आयोजना गर्न लागिएको हो। काठमाडौंमा रहेका ताप्लेजुङवासी दिदीबहिनी तथा आमाबुबा, दाजुभाइबीच भेटघाट, सद्भाव र आत्मीयता बढाउँदै माटोसँगको सम्बन्ध र पहिचानलाई अझ बलियो बनाउने उद्देश्य पनि कार्यक्रमले बोकेको छ। त्यसैले यो तीजको उत्सव मात्र होइन—ताप्लेजुङसँग जोडिएको भावनाको उत्सव पनि हो। एउटै मञ्चमा धेरै पुस्ताका कथा ताप्लेजुङ नारी सम्मान–२०८३ को सबैभन्दा सुन्दर पक्ष यही हो—यसले इतिहासकी नारीदेखि वर्तमानकी कर्मशील नारीसम्मका कथा एउटै मञ्चमा जोड्दैछ। मरणोपरान्त सम्मानले इतिहास सम्झाउँछ। शिक्षा र स्वास्थ्य सम्मानले सेवाको मूल्य बुझाउँछ। राष्ट्रसेवा र जनप्रतिनिधि सम्मानले नेतृत्वको कथा सुनाउँछ। उद्यमी सम्मानले आत्मनिर्भरताको बाटो देखाउँछ। समाजसेवा सम्मानले मानवताको अर्थ सम्झाउँछ। कला, साहित्य, संस्कृति र सञ्चार सम्मानले ताप्लेजुङको पहिचान र प्रतिभालाई उजागर गर्छ। यसरी हेर्दा यो विभिन्न विधाका महिलाहरूलाई छुट्टाछुट्टै सम्मान गर्ने कार्यक्रम मात्र होइन। यो ताप्लेजुङको नारी शक्तिको सामूहिक अभिवादन हो। सम्मान आजका लागि मात्र होइन, भोलिका लागि पनि ताप्लेजुङ नारी सम्मान–२०८३ को उद्देश्य सम्मानित व्यक्तित्वको संख्या बढाउनु मात्र होइन। यसले एउटा पुस्तालाई अर्को पुस्तासँग जोड्न खोजेको छ। हाम्रा अग्रजले के गरे ?आजका महिलाले के गरिरहेका छन् ?र भोलिका छोरीहरूले के गर्न सक्छन् ? यी तीन प्रश्नको उत्तर खोज्ने प्रयास पनि यही अभियान हो। एउटी आमाको संघर्ष, एउटी शिक्षिकाको समर्पण, एउटी स्वास्थ्यकर्मीको सेवा, एउटी राष्ट्रसेवकको जिम्मेवारी, एउटी उद्यमीको मेहनत, एउटी समाजसेवीको मानवता र एउटी स्रष्टाको सिर्जना—यी सबै भोलिका छोरीहरूका लागि प्रेरणाका जीवित पाठ हुन्। त्यसैले यो सम्मान आज सम्मानित हुने व्यक्तिका लागि मात्र होइन, उनीहरूको कथा सुन्ने आगामी पुस्ताका लागि पनि हो। एउटा कार्यक्रम, एउटा अभियान र एउटा सामूहिक संकल्प ताप्लेजुङ नारी सम्मान–२०८३ ले एउटा महत्वपूर्ण सन्देश दिन खोजेको छ महिलाको योगदानलाई घरको चौघेराभित्र सीमित नराखौँ।उहाँहरूको कर्मलाई समाजको इतिहासमा लेखौँ।उहाँहरूको संघर्षलाई सम्मान गरौँ।उहाँहरूको सफलतालाई सार्वजनिक गरौँ।र उहाँहरूको कथाबाट नयाँ पुस्तालाई प्रेरणा दिऔँ। यही सोचका साथ आयोजना हुन लागेको यो कार्यक्रमले ताप्लेजुङका छोरी–बुहारीहरूको सम्मानसँगै उनीहरूले निर्माण गरेको समाज, इतिहास, संस्कृति र पहिचानप्रति सामूहिक कृतज्ञता व्यक्त गर्नेछ। “योगदानको सम्मान, प्रेरणाको विस्तार” हरितालिका तीजको सांस्कृतिक उल्लाससँगै आयोजना हुन लागेको ताप्लेजुङ नारी सम्मान–२०८३ इतिहासलाई श्रद्धापूर्वक सम्झिने, वर्तमानलाई गौरवका साथ सम्मान गर्ने र भविष्यलाई आशाका साथ हेर्ने अवसर हो। जहाँ विगतलाई सम्मान गरिनेछ, वर्तमानलाई प्रोत्साहन गरिनेछ र भविष्यलाई प्रेरणा दिइनेछ। यस अर्थमा— ताप्लेजुङ नारी सम्मान–२०८३ केवल एउटा सम्मान कार्यक्रम होइन्यो त समग्र ताप्लेजुङका नारीहरूको योगदान, संघर्ष, सामर्थ्य र सफलताको साझा उत्सव हो। कार्यक्रम ः हरितालिका तीज तथा ताप्लेजुङ नारी सम्मान–२०८३मिति ः २०८३ भदौ ६ गतेसमय ः बिहान ११ः३० बजेस्थान ः कार्की पार्टी प्यालेस, सुकेधारा, काठमाडौं