नौमती बाजादेखि पालाम, संगिनी र स्याब्रुसम्म : काठमाडौंमा घन्किँदैछ ताप्लेजुङको मौलिक संस्कृति 142 Shares काठमाडौं । हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजना हुन लागेको ‘हरितालिका तीज तथा ताप्लेजुङ नारी सम्मान कार्यक्रम–२०८३’ यसपटक केवल तीज मनाउने कार्यक्रममा सीमित हुने छैन। जन्मभूमिको सम्झना, मौलिक संस्कृति, लोकसंगीत, नृत्य र नारी सम्मानलाई एउटै मञ्चमा जोड्दै यो कार्यक्रम ताप्लेजुङवासीका लागि आत्मीय सांस्कृतिक उत्सव बन्ने भएको छ। ताप्लेजुङ समाज–नेपालको आयोजना तथा पाथीभरा दिदीबहिनी समूह, काठमाडौंको सह–आयोजनामा हुने कार्यक्रममा ताप्लेजुङको मौलिक कला, संस्कृति र सांगीतिक पहिचानलाई विशेष प्राथमिकता दिइएको छ। काठमाडौंमा रहेका ताप्लेजुङवासीलाई केही समयका लागि आफ्नै गाउँघर, डाँडापाखा, लेक–बेँसी र जन्मभूमिको आँगनमा पुगेको अनुभूति गराउने उद्देश्यले कार्यक्रमलाई विविध सांस्कृतिक प्रस्तुतिसहित विशेष बनाइएको आयोजकले जनाएको छ। नौमती बाजाको गुञ्जनसँगै जाग्नेछ गाउँघरको सम्झना कार्यक्रमको सुरुवातमै बिहान ११ बजेदेखि गुञ्जिने नौमती बाजाको स्वागत प्रस्तुतिले वातावरणलाई उल्लासमय बनाउनेछ।नौमती बाजाको धुन सुन्नेबित्तिकै ताप्लेजुङका गाउँघर, डाँडापाखा, विवाह–समारोह र पुराना चाडपर्वका सम्झना मानसपटलमा आउनेछन्। काठमाडौंको भीडभाड र व्यस्तताबीच केही समयका लागि मन आफ्नै गाउँको आँगनमा पुग्नेछ। सुकेधारा–धुम्बाराहीस्थित कार्की पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रमलाई वरिपरिको हरियाली र शिवपुरीबाट आउने शीतल हावाले समेत थप रमणीय बनाउने अपेक्षा गरिएको छ। अन्जुको स्वरमा गाउँघर र लेक–बेँसीको सुगन्ध कार्यक्रमकी प्रमुख सांगीतिक आकर्षणमध्ये एक हुन् चर्चित गायिका अन्जु गौतम। अन्जुले आफ्ना लोकप्रिय लोक तथा तीज गीतमार्फत ताप्लेजुङका पुराना गाउँ, लेक–बेँसी, गोरेटो बाटो र गाउँघरका आत्मीय सम्झनालाई काठमाडौंसम्म ल्याउनेछिन्। उनको स्वरमा गीतको मिठाससँगै ताप्लेजुङको माटो र गाउँघरको जीवनको सुगन्ध अनुभूति गर्न पाइनेछ। उनका प्रस्तुतिसँगै काठमाडौंमा रहेका ताप्लेजुङवासीको मन आफ्नै गाउँ, घर र बाल्यकालका सम्झनातर्फ फर्किने अपेक्षा गरिएको छ। जुनुको स्वरमा हाड्पाडदेखि थुम्बेदिनसम्म अर्की चर्चित गायिका जुनु प्रसाईको प्रस्तुति पनि कार्यक्रमको विशेष आकर्षण बन्नेछ। जुनुको लोकप्रिय गीत ‘ताप्लेजुङको हाड्पाड हो घर, माया लाउन आउ वरवर’ ले हाड्पाडको सम्झना गराउनेछ। उनका अन्य प्रस्तुतिले थुम्बेदिन, देवलिङ्गे, तिरबरे र फावाखोलालगायत ताप्लेजुङका गाउँ–ठाउँ तथा पुराना सम्झनालाई सांगीतिक रूपमा जोड्नेछन्। उनको गीतमा ताप्लेजुङको भूगोल मात्र होइन, माया, सम्झना र जन्मभूमिप्रतिको आत्मीयता पनि मिसिनेछ। त्यसैले जुनुको प्रस्तुति दर्शकका लागि मनोरञ्जन मात्र नभई आफ्नै गाउँघरको सांगीतिक यात्रासमेत बन्नेछ। देविकाको नृत्यमा चल्नेछ तीजको ताल ताप्लेजुङकी छोरी तथा चर्चित डान्सर देविका गौतमको विशेष नृत्य प्रस्तुति कार्यक्रमको अर्को आकर्षण हुनेछ। देविकाको ऊर्जावान प्रस्तुतिले मञ्चमा तीजको रौनक थप्नेछ। उनको नृत्यसँगै दर्शकदीर्घामा रहेका दिदीबहिनीका पाइला पनि आफैं चल्न थाल्नेछन्—छमछमी। त्यससँगै संगिनी, पालाम र स्याब्रु नृत्य लगायतका मौलिक सांस्कृतिक प्रस्तुतिले ताप्लेजुङको विविध सांस्कृतिक पहिचानलाई काठमाडौंको मञ्चमा जीवन्त बनाउनेछन्। गीतमा रमाउनेछन्, सम्मानमा भावुक हुनेछन् कार्यक्रमको सांगीतिक पक्ष जति आकर्षक छ, ताप्लेजुङ नारी सम्मान–२०८३ यसको उत्तिकै महत्वपूर्ण पाटो हो। शिक्षा, राजनीति, सरकारी सेवा, स्वास्थ्य, सामाजिक सेवा, पर्यटन, उद्यमशीलता, कृषि, साहित्य, कला, पत्रकारिता, खेलकुद, विज्ञान तथा प्रविधिलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका महिलालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिनेछ। वर्षौंको संघर्ष, समर्पण र योगदानपछि आफ्नो कर्मको सम्मान पाउँदा ती महिलाका लागि त्यो क्षण केवल एउटा प्रमाणपत्र वा सम्मानपत्र प्राप्त गर्ने अवसर मात्र हुनेछैनस आफूले हिँडेको बाटो, गरेका संघर्ष र समाजका लागि दिएको योगदानलाई पुनःस्मरण गर्ने भावनात्मक क्षण पनि बन्नेछ। एक दिन काठमाडौंमा, अनुभूति भने आफ्नै ताप्लेजुङको नौमती बाजाको गुञ्जन, तीज गीतको मिठास, पालामको लय, संगिनीको भाका, स्याब्रुको मौलिकता र नृत्यको उमंगले सुकेधाराको वातावरणलाई एक दिनका लागि ताप्लेजुङको सांस्कृतिक आँगन बनाउनेछ। शिवपुरीको शीतल हावा चलिरहँदा मञ्चमा ताप्लेजुङका गीत घन्किनेछन्। दिदीबहिनीहरू तीजको रंगमा रमाइरहँदा धेरैका आँखाअगाडि आफ्नै गाउँका डाँडा, पाखा, लेक–बेँसी, खोला र गोरेटाहरू झल्किनेछन्। त्यसैले यो कार्यक्रम केवल तीजको उत्सव होइन—सम्झनाको उत्सव हो, संस्कृतिको उत्सव हो, आफ्नोपनको उत्सव हो। र सबैभन्दा महत्वपूर्ण, ताप्लेजुङका महिलाको योगदान र गौरवको उत्सव हो। आयोजकले काठमाडौंमा रहेका सम्पूर्ण ताप्लेजुङवासी, दिदीबहिनी, दाजुभाइ तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई तीजको उल्लाससँगै जन्मभूमिको कला, संस्कृति, संगीत र नारी शक्तिको उत्सवमा सहभागी हुन आग्रह गरेको छ। अनि त्यो दिन नौमती बाजा घन्किनेछ,तीजका गीत गुञ्जिनेछन्,पालाम र संगिनीका भाका मिसिनेछन्,स्याब्रुको तालमा पाइला चल्नेछन्,देविकाको नृत्यमा मन झुम्नेछ,अन्जु र जुनुको स्वरमा गाउँघर सम्झिइनेछ। शिवपुरीको शीतल हावाले थाकेका मुहारमा ऊर्जा थपिरहँदा मनले सायद एउटै कुरा भन्नेछ— ‘आज काठमाडौंमा होइन, आफ्नै ताप्लेजुङको आँगनमा पो आइपुगिएछ ।