१०औँ सगरमाथा गोल्ड कप २०२६ को खेल मैदान परिवर्तन 1.7k Shares रियाद, साउदी अरब । सगरमाथा फुटबल क्लब, रियाद साउदी अरबद्वारा आयोजना हुन लागेको “१०औँ सगरमाथा गोल्ड कप २०२६” को खेल मैदान परिवर्तन गरिएको छ। आयोजकले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिता अब रियादको एक्जिट–१९ स्थित रविया खेल मैदानमा सञ्चालन हुनेछ। यसअघि प्रतियोगिता वादी हनिफा फुटबल रंगशालामा आयोजना गर्ने तयारी गरिएको थियो। तर आम खेलप्रेमी, खेलाडी तथा शुभचिन्तकहरूको आग्रहलाई मध्यनजर गर्दै खेल मैदान परिवर्तन गरिएको आयोजक कमिटीका सचिव दावा शेर्पाले जानकारी दिएका छन्। प्रतियोगिता नेपाली दूतावास रियाद साउदीका कार्यवाहक राजदूत श्रृजना अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जनाइएको छ। प्रतियोगिता आगामी मे २८ र २९ तारिख सञ्चालन हुनेछ भने दर्शक उपस्थित हुने समय दिउँसो ३ बजे निर्धारण गरिएको छ। सगरमाथा फुटबल क्लब, रियादले प्रवासी नेपाली समुदायबीच खेलकुदको विकास, आपसी एकता तथा स्वस्थ मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले विगतदेखि नियमित रूपमा गोल्ड कप आयोजना गर्दै आएको छ। आयोजकका अनुसार यस वर्षको १०औँ संस्करणलाई विशेष भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा बढीमा १५ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता नकआउट प्रणालीमा खेलाइने आयोजकले जनाएको छ। साउदी अरबमा क्रियाशील विभिन्न नेपाली समुदायका फुटबल टोलीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामार्फत प्रवासी नेपालीबीच सद्भाव, सहकार्य, एकता तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। साथै खेलकुदमार्फत नेपाली पहिचानलाई थप सुदृढ बनाउँदै युवापुस्तालाई खेल क्षेत्रमा प्रेरित गर्ने उद्देश्यसमेत रहेको बताइएको छ। पुरस्कारतर्फ विजेता टोलीले नगद ७ हजार पाँच सय साउदी रियाल सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३ हजार ८ सय साउदी रियालसहित ट्रफी र प्रमाणपत्र हात पार्नेछ। खेलमा सहभागी हुन ५०० रियाल प्रवेश शुल्क निर्धारण गरिएको छ । प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ पुरस्कार प्रदान गरिनुका साथै विभिन्न विधागत पुरस्कारहरू समेत वितरण गरिने आयोजकले जनाएको छ। विगतका संस्करणहरू सफलतापूर्वक सम्पन्न हुँदै आएको सगरमाथा गोल्ड कपले रियादस्थित नेपाली समुदायमा खेलकुदप्रतिको आकर्षण बढाउँदै आएको छ। प्रतियोगिताले खेल प्रतिभाको पहिचानसँगै सामाजिक सद्भाव अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकको दाबी छ।