ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ। समितिले पाथीभरा क्षेत्रको प्रबर्द्धन, प्रचार–प्रसार तथा विकासमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई कदर गरेको हो।

मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई विशेष सम्मान गरिएको कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए। अधिकारी नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक हुनुहुन्छ भने हाल नागरिक दैनिकका जिल्ला संवाददाता समेत हुनुहुन्छ। त्यस्तै, फुरुम्बो नेपाल पत्रकार महासङ्घका सचिव तथा रेडियो तमोरका स्टेशन म्यानेजर हुन्। दुवैलाई समाचारमार्फत पाथीभरा मन्दिरको प्रचार–प्रसारमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो।

यस्तै, सम्मानित हुने अन्य व्यक्तित्वमा पूर्वमन्त्री मणि लामा, पूर्व जिल्ला विकास समिति सभापति दीपेन्द्रकुमार सेन्दाङ, अग्रज ताराबिर थापा, लेखक राजेश्वर थापा, गीतकार तथा संगीतकार अनिल खड्का, फोटोग्राफर हर्कराज गुरुङ, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेत रहेका छन्।

सम्बन्धित सबैलाई दोसल्ला र कदरपत्र प्रदान गरिएको समितिका अध्यक्ष रक्की थेबेले बताए। कार्यक्रम प्रतिनिधिसभा सदस्य तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

सार्वजनिक सुनुवाइमा स्थानीय सरोकारवाला तथा सर्वसाधारणले विभिन्न सवालहरू राखेका थिए, जसको जवाफ समितिका पदाधिकारी तथा कार्यकारी निर्देशकले दिएका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगर प्रमुख अमिर मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, सुरक्षासंस्थाका प्रमुखलगायत जनप्रतिनिधि र अधिकारीहरूको उपस्थितি रहेको थियो।


प्रतिक्रिया दिनुहोस्